चक्रवात ‘अर्नब’को प्रभाव: कञ्चनजंघा क्षेत्रमा २५० पर्यटक अलपत्र

डिसी नेपाल
१३ कार्तिक २०८३ ८:००
8
Shares

ताप्लेजुङ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली भेगको मौसम प्रतिकूल बनेपछि कञ्चनजंघा क्षेत्रको पदभ्रमणमा निस्किएका करिब २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमै रोकिएका छन्।

उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो भेगमा निरन्तरको वर्षासँगै अत्यधिक चिसो बढेपछि आधार शिविर (बेसक्याम्प) तर्फ जाँदै गरेका र फर्किँदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमा रहेका होटल तथा बस्तीहरूमा ओत लाग्न बाध्य भएका छन्। मौसम बिग्रिएपछि पदमार्गका बस्ती र होटलहरू पर्यटकले भरिभराउ भएका छन्।

कञ्चनजंघा बेसक्याम्पतर्फको भ्रमणमा रहेका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन्। उहाँको टोली नै दुई दिनदेखि त्यहीँ रोकिएको छ।

यस्तै, पदमार्गमा पर्ने फले क्षेत्रका होटलहरू पनि पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिनुभयो। उक्त क्षेत्रमा लगातार सिमसिम पानी परिरहेको र उच्च डाँडाहरूमा हिमपात जारी रहेको छ।

कञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फका इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाक तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जे क्षेत्रका होटलहरूमा पर्यटकको चाप बढेको छ।

यता, लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जान लागेका विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ। फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बा क्षेत्रको अध्ययनका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहनुभएका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक ओलाङचुङगोलाका स्थानीय होटलहरूमा बसिरहेका छन्।

तीमध्ये आधाभन्दा बढी लुम्बासुम्बा भएर मकालु आधार शिविरतर्फ जाने पर्यटक छन्। ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने लक्ष्य राखेका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूलताका कारण अघि बढ्न सकेका छैनन्।

मौसममा आएको खराबीपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमै रहन सूचना जारी गरेका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार प्रतिकूल मौसमका बाबजुद अहिलेसम्म जिल्लामा कुनै अप्रिय विपद्का घटना भएका छैनन्। हाल कञ्चनजंघा क्षेत्रका विभिन्न बस्ती तथा होटलहरूमा २५० स्वदेशी तथा विदेशी पर्यटक सुरक्षित रूपमा बसिरहेका छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिन क्षेत्रमा पर्यटकको उपस्थिति बढी रहेको छ।

प्रशासनले पर्यटकहरूलाई सुरक्षित रहन र मौसमको स्थिति बुझेर मात्र यात्रा अघि बढाउन सचेत गराएको छ। सुरक्षा निकाय र स्थानीय तहहरूसँग समन्वय गरी उच्च सतर्कता अपनाइएको र स्थानीय सर्वसाधारणलाई समेत सजग गराइएको प्रजिअ दाहालले जानकारी दिए। ताप्लेजुङमा बिहीबार दिनभर आकाश धुम्मिनुका साथै गए रातिदेखि निरन्तर वर्षा र उच्च हिमाली भागमा हिमपात भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *