भुटानमा हिमताल विष्फोटको आशंका: भीषण बाढीले सडक सम्पर्क विच्छेद
काठमाडौं। भुटानमा गएराति एक्कासि आएको भीषण बाढीका कारण जलप्रलयको स्थिति सिर्जना भएको छ। गासा जिल्लास्थित जोखिमयुक्त ‘सिन्ताफु’ हिमताल विष्फोट भएर बाढी आएको आशंका गरिएको छ।
बाढीका कारण गासा जिल्लाको प्रसिद्ध छाचु (तातोपानी) क्षेत्र पूर्ण रूपमा बगेको छ भने मो छू नदीमा आएको बहावले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा व्यापक क्षति पुर्याएको छ।
आकस्मिक बाढीसँगै आएको गेग्रान, ढुंगा र माटोले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको ठूलो खण्ड बगाएको छ। साथै, लाया गेओग जाने सडकको टोङचुद्राक खण्ड क्षतिग्रस्त भएपछि लाया क्षेत्र देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद भएको छ।
रातको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न बाँकी छ। हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभए पनि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेका छन्।
बाढी मो छू नदीको मुहान क्षेत्रबाट आएकाले वाकिला हिमालको फेदीमा रहेको सिन्ताफु हिमताल फुटेको हुनसक्ने अनुमान गरिएको छ। भुटानका १७ वटा अति जोखिमयुक्त हिमतालमध्ये एक मानिने यो ताल फुटेको संकेत गर्ने केही तस्वीरहरू सामाजिक सञ्जालमा आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
जोखिम बढेलगतै प्रभावित क्षेत्रका बासिन्दा, ताक्त्सिमाखाङमा खटिएका सैनिक र परियोजनाका कर्मचारीहरूलाई सुरक्षित र अग्लो स्थानमा सारिएको छ। पुनाखाको येबिसा क्षेत्रसम्म बाढी पुगेपछि पुनाखा सेन्ट्रल स्कुलका आवासीय विद्यार्थीहरूलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको तासिथाङ र येबेसा क्षेत्रमा पानीको सतहको निरन्तर अनुगमन गरिरहेको छ। मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा पूर्वसूचना दिने साइरन प्रणालीहरू सक्रिय गराइएको छ।
बाढीसँगै आउने गेग्रानले क्षति पुर्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु-२ जलविद्युत् आयोजनाले आफ्ना विद्युत् उत्पादन युनिटहरू बन्द गरी बाँधका ढोकाहरू खोलेको छ। स्थिति सामान्य नभएसम्म तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment