जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम तयारी: प्रधानमन्त्री शाहको भारत भ्रमणमा उद्घाटन गरिने
सांकेतिक तस्बिर एआई
जनकपुरधाम। जनकपुरधामदेखि भारतको पवित्र धार्मिक स्थल अयोध्यासम्म सोझै विशेष रेल सेवा सञ्चालनको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यो रेल सेवाको उद्घाटन गर्ने गरी तीव्र तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार आगामी मङ्सिर ६ गतेदेखि हुने तय भएको प्रधानमन्त्रीको भारत भ्रमणकै क्रममा सेवाको सुरुवात गर्ने लक्ष्य राखिएको छ। यसका लागि नेपाल र भारतका रेल्वे, भन्सार तथा सुरक्षा अधिकारीहरूबीच विभिन्न चरणमा छलफल भइरहेको छ।
रामायण सर्किटअन्तर्गत सञ्चालन हुने यस विशेष रेल सेवाको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ।
केही दिनअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार र अध्यागमन अधिकारीहरूको संयुक्त टोलीले जयनगर-जनकपुरधाम-कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरिसकेको छ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई सीधा रेल सेवाले जोडेपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठका अनुसार यसले धार्मिक तीर्थयात्रीको आवतजावतलाई सहज बनाउनुका साथै स्थानीयस्तरमा आर्थिक र पर्यटकीय गतिविधिलाई नयाँ उचाइ दिनेछ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment