सर्वोच्च बारको निष्कर्ष: बिचौलिया र बाहिरी प्रभावले न्यायपालिकाको साख घट्यो, उच्चस्तरीय छानबिन आवश्यक
काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएशनले केही दिनयता सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जोडेर आएका समाचारहरूले न्यायपालिकाको जनविश्वासमा गम्भीर आघात पुर्याएको निष्कर्ष निकालेको छ।
बारका सचिव रमणकुमार कर्णले शुक्रबार एक विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा र जनविश्वासमा आँच आएको बताएका छन्।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएपमा कुराकानी भएको र ललितपुरस्थित हिमालय होटलमा भेट भएको विषय सार्वजनिक भएपछि न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको छ।
‘विगत केही दिनदेखि सम्माननीय प्रधान न्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राख्दै न्यायाधीशहरू आफ्नो प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई निर्भयताका साथ न्याय सम्पादन गर्न सक्ने वातावरण निर्माण गर्न सरोकारवाला सबैसँग बारले आग्रह गरेको छ।
यसका साथै, संवैधानिक इजलास गठनसम्बन्धी विवाद, न्यायिक कार्यमा बाहिरी हस्तक्षेप र न्याय सम्पादनमा बिचौलियाहरूको संलग्नताले गर्दा अदालतको संस्थागत विश्वसनीयता र समग्र न्याय प्रणालीप्रतिको जनआस्थामा ह्रास आएको बारको ठहर छ।
न्यायालयभित्रका यस्ता विकृति अन्त्य गर्नका लागि संवैधानिक इजलासमा पनि गोलाप्रथा प्रणालीमार्फत चार जना न्यायाधीश चयन गर्ने व्यवस्था मिलाउन सर्वोच्च बारले सर्वोच्च अदालतसमक्ष आग्रहसमेत गरेको छ।


No ads found for this position



डिसी नेपाल
Facebook Comment