नेपालको एलडीसी स्तरोन्नति तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म विस्तार
राष्ट्रसंघीय महासभाबाट प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकले उक्त निर्णय गरेको हो। महासभामा प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ।
साथै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइनेछ।
यो अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैबीच, उक्त निर्णयका लागि नेपाली नियोगले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूले देखाएको निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment