उपकरण जडान गरी निरन्तर निगरानीमा राखिएको भुटानको सिन्ताफु हिमताल विस्फोट
गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगायो
काठमाडौं। भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा गत बिहीबार (अक्टोबर २९) साँझ हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड-ग्लोफ) भएको छ।
डेली भुटानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध (मोरेन) कमजोर भई एक्कासि बाहिर निस्किएपछि आएको भीषण बाढीले मोछु नदी किनारमा रहेको चर्चित ‘गासा छाचु’ तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ।
बाढीका कारण पुनाखा-गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्ड पूर्ण रूपमा बगेपछि यातायात सेवा ठप्प भएको छ। बाढीले दुर्गम उच्च पहाडी बस्ती लाया जोड्ने सडकको खण्डमा समेत क्षति पुर्याएपछि अधिकारीहरूले अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएका छन्।
यात्रुहरूलाई अत्यावश्यक नभएसम्म यात्रा स्थगित गर्न वा वैकल्पिक मार्ग सुनिश्चित गर्न आग्रह गरिएको छ। बिहीबार राति करिब ८:१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो भने चेतावनीका साइरन बजाएर सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो। अक्टोबर ३० को बिहानसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन भने क्षतिको वास्तविक मूल्यांकन अझै भइरहेको छ।
सिन्ताफु ताल मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो, जसको पानी मोछु र फोछु नदी मिसिएर पुनात्साङछु बन्दै भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ।
भुटानको आधिकारिक सूचीमा सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा वर्गीकृत गरिएको यस तालको अवस्थाबारे भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुनसम्म विशेष अध्ययन गरी निगरानीका उपकरणहरूसमेत जडान गरेका थिए।
अध्ययनका क्रममा तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण तथा पानी आपूर्ति गर्ने हिमनदीको निरन्तर अनुगमन गरिएको थियो।
यसैबीच, सिन्ताफु हिमताल विस्फोटको खबरपछि छिमेकी भारतमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतको केन्द्रीय जल आयोगले पश्चिम बंगाल र आसामका लागि विशेष बाढी चेतावनी जारी गर्दै अलिपुरद्वार र धुब्री जिल्लामा संकोश तथा यसका सहायक नदीहरूको जलस्तर अचानक बढ्न सक्ने जनाएको छ।
दुवै राज्यका स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर र बहावलाई नजिकबाट निगरानी गर्न तथा तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment