लागुऔषध र हतियारसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०८३ १३:५७
56
Shares

काठमाडौं।  नियमित गस्तीमा खटिएको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, प्रतिबन्धित लागुऔषध र अवैध हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरूलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मूलकोटबाट एक सय ग्राम खैरो हेरोइनसहित रूपन्देहीका २८ वर्षीय प्रकाश थापा र सप्तरीका २२ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, मोरङको रतुवामाई नगरपालिका-६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित भारतका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङका योगेन्द्र ठाकुर पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले भारततर्फबाट आउँदै गर्दा उनीहरूलाई रोक्ने क्रममा दीपककुमारले पेस्तोल निकालेर गोली प्रहार गर्न खोजेपछि प्रहरीको जवाफी कारबाहीमा दीपककुमार र पुरनकुमार घाइते भएका छन्। उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ।

मोरङकै रतुवामाई नगरपालिका-१० पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापा दमकका सुमन सुवेदी तथा मिक्लाजुङ गाउँपालिका-९ गणेशचोकबाट ५४० मिलिग्राम खैरो हेरोइनसहित झापाका सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-४ बर्मेली चोकबाट ६०३ ट्याब्लेट ऐनारगन, ६०३ ट्याब्लेट ट्रामाडोल र एक थान स्कुटरसहित अस्मिन कुइँकेलसहित दुई जना तथा भरतपुर-१५ प्रगति टोलबाट २ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन, ३१ ट्याब्लेट ट्रामाडोल र डिजिटल तराजूसहित २६ वर्षीय नवीन गुरुङ र अमृत गुरुङ पक्राउ परेका छन्। धनकुटा नगरपालिका-१ हिलेबाट २ ग्राम खैरो हेरोइनसहित सुरज तामान् र शिशिर बस्नेत पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-६ लगनखेलबाट ७०५ ग्राम गाँजासहित भारतका गौतमकुमार र आलोक जैसवाल पक्राउ परेका छन् भने झापाको कनकाई-४ बाट ७७० मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन्।

तनहुँको शुक्लागण्डकी-२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन, ३०० एम्पुल फेनारगन र एक थान मोटरसाइकलसहित पोखराका १९ वर्षीय उज्वल विक पक्राउ परेका छन्। बाँकेको बैजनाथ-५ बाट ५३० मिलिग्राम ब्राउनसुगरसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त-१९ बागफाटाबाट ४९० मिलिग्राम खैरो हेरोइन सहित लछु रानासहित चार जना र कञ्चनपुरकै लालझाडी-१ बाट २ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन सहित मनिष राना, श्रवण राना र रोहित राना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइलीबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

सुनसरीको इटहरी-२ बाट १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित किशोर लिम्बू पक्राउ परेका छन् भने बर्दियाको गुलरिया-११ बाट २०० मिलिग्राम ब्राउनसुगरसहित बाँकेका गोविन्द डाँगी पक्राउ परेका छन्। यसैगरी, भक्तपुरको मध्यपुर थिमि-३ कौशलटारबाट २०० ग्राम पोलेन र एक थान मोटरसाइकलसहित रामेछापका उमेश दियालीलाई प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *