भोजपुरमा गोरुको विकल्प बन्दै ‘मिनी टिलर’: कृषिमा आधुनिकीकरणले सहज बनायो खेतीपाती
भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको साटो आधुनिक कृषि उपकरण ‘मिनी टिलर’को प्रयोग तीव्र रूपमा बढ्न थालेको छ। पहाडी भेगमा समेत कृषि प्रणालीको आधुनिकीकरण भित्रिएपछि खेतबारी जोत्न र तयारी गर्न आधुनिक औजारको माग उल्लेख्य रूपमा बढेको हो।
सदरमुकामस्थित सिद्धकाली सप्लायर्सका प्रोप्राइटर बाजिम मगरका अनुसार पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत खेतीपातीको परम्परागत शैलीमा परिवर्तन आएकाले आधुनिक कृषि प्रविधि र औजारको बिक्री बढेको छ।
वैदेशिक रोजगारी, अध्ययन तथा अवसरको खोजीमा युवा पुस्ता गाउँ छाडेर सहर वा विदेशतर्फ आकर्षित भएपछि ग्रामीण भेगमा गोरु पाल्ने कृषकको सङ्ख्या घट्दो क्रममा छ। गोरु खोज्न समय लाग्ने र अरूको पालो पर्खनुपर्ने झन्झटबाट मुक्ति पाउन मिनी टिलर उत्तम र सहज विकल्प बनेको स्थानीय कृषक सीताराम प्रधान बताउँछन्।
अहिले कृषकहरूले खेतबारी जोत्न मिनी टिलर हलोका साथै कम्बाइन्ड राइस मिल, रूख काट्ने मेसिन, धान झाट्ने थ्रेसर र मकै छोडाउने कर्न थ्रेसरजस्ता आधुनिक औजारको प्रयोग बढाएका छन्। यसले गर्दा कृषिको लागत र समय दुवैमा बचत हुन थालेको व्यवसायीहरूको भनाइ छ।
कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने तथा कृषकलाई व्यावसायिकतातर्फ आकर्षित गराउने उद्देश्यले स्थानीय तहहरूले पनि अनुदानमा उपकरण वितरणलाई प्राथमिकता दिएका छन्।
जिल्लाको पूर्वी क्षेत्रमा रहेको पौवादुङमा गाउँपालिकाले कृषकहरूलाई प्रोत्साहन गर्न गत वर्ष मात्रै तीन सयभन्दा बढी मिनी टिलर अनुदानमा वितरण गरेको थियो। थोरै समयमा धेरै काम गर्न सकिने र चलाउन पनि सहज हुने भएकाले अनुदान कार्यक्रमअन्तर्गत यसको प्रवर्द्धन गरिएको गाउँपालिकाले जनाएको छ।
गोरुले जोत्दाभन्दा मिनी टिलरको प्रयोग गर्दा झन्डै ७५ प्रतिशत छिटो काम हुने कृषकहरूको अनुभव छ। गोरु जस्तो वर्षैभरि घाँस-पात र स्याहारसुसार गरेर पाल्नु नपर्ने तथा चाहिएको बेला तत्काल प्रयोग गर्न सकिने भएकाले भोजपुरका कृषकमाझ मिनी टिलरको रोजाइ र प्रभावकारिता दिनानुदिन बढ्दै गएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment