शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो।
भेटमा दुवै देशबीच शिक्षा क्षेत्रमा लामो समयदेखि हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो। मन्त्री पोखरेलले नेपालको आधारभूत शिक्षा सुधार तथा जनशक्ति विकासमा अमेरिकी सहयोगले महत्वपूर्ण योगदान पुर्याएको भन्दै धन्यवाद दिएका थिए।
मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा विश्वविद्यालयका प्राध्यापकबीच आदानप्रदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। फुलब्राइट छात्रवृत्तिलगायत शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो।
कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने बताएकी थिइन्।
भेटमा सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिकलाई लक्षित गरी नेपाली खेलाडी र प्रशिक्षकलाई तालिम, खेलाडी विकास तथा खेल व्यवस्थापनमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो। दुवै पक्षले शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment