काठमाडौं उपत्यकाका केही स्थानमा आठ दिन दैनिक साढे पाँच घण्टा बत्ती नआउने
काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत तथा स्तरोन्नति गर्ने कार्यका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत केबल बिछ्याउन लागेकाले आगामी कात्तिक १३ देखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने जानकारी दिएको छ।
प्राधिकरणको कार्यतालिका अनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा बत्ती जानेछ भने कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
यसैगरी, कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म तथा १६ गते बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्रमा सेवा प्रभावित हुनेछ।
त्यस्तै, कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म, १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुनेछ भने १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा बत्ती जानेछ।
प्रतिकुल मौसम आएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाउँदै प्राधिकरणले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा माग्दै आवश्यक वैकल्पिक तयारी गर्न सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment