मस्कोमा आतंकवादी आक्रमणको जोखिमबारे अमेरिकाबाट सूचना प्राप्त भएको रुसको एफएसबीद्वारा पुष्टि
काठमाडौं । रुसको फेडरल सेक्युरिटी सर्भिसले अमेरिकाको तर्फबाट मस्कोमा आतंकवादी आक्रमणको तयारी भइरहेकोसम्बन्धी जानकारी प्राप्त भएको जनाएको छ। रुसी समाचार एजेन्सी ‘आरआईए’का अनुसार, साझेदार सञ्जाल मार्फत यो सूचना प्राप्त भएको र सम्भावित खतरालाई ध्यानमा राख्दै सुरक्षा एजेन्सीले आवश्यक कदम चाल्न सुरु गरिसकेको एफएसबीले बताएको छ।
यसैबीच, मस्कोस्थित अमेरिकी दूतावासले पनि शनिबार मस्कोको सारित्सिनो म्युजियम रिजर्भमा ठूलो संख्यामा मानिसहरू हताहत हुन सक्ने घटनाको सम्भावित खतरालाई लिएर सेक्युरिटी अलर्ट जारी गरेको छ।
दूतावासका अनुसार अक्टोबर ३१ का दिन सारित्सिनो म्युजियम रिजर्भमा यस्तो खतरा रहेको उल्लेख छ। अमेरिकी सरकार यस खतरासँग जुध्नका लागि रुसी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ।
अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई सारित्सिनो म्युजियम क्षेत्रबाट टाढा रहन र उच्च सतर्कता अपनाउन सल्लाह दिएको छ। साथै मानिसहरूलाई भिडभाड हुने स्थानहरूमा नजान आग्रह गरिएको छ।
दूतावासले मस्को क्षेत्रमा रहेका मानिसहरूलाई आफ्ना मोबाइल फोन र अन्य ब्याट्रीहरू चार्ज राख्न, वरपरको वातावरणमाथि नजर राख्न र आफ्नो व्यक्तिगत सुरक्षा योजनाको समीक्षा गर्न पनि सुझाव दिएको छ।
सारित्सिनो म्युजियम रुसको राजधानी मस्कोको एक प्रमुख पर्यटकीय स्थल हो। यसलाई सन् १७७५ मा रुसकी क्याथरिन द्वितीयको ग्रीष्मकालीन आवासका रूपमा निर्माण गरिएको थियो। पछि यो एक लोकप्रिय पर्यटकीय गन्तव्य बन्यो।
सन् २०२२ मा यस संग्रहाहालयमा २० लाखभन्दा बढी मानिसहरू पुगेका थिए। म्युजियम वरपरको क्षेत्र पनि स्थानीय मानिसहरूका बीच निकै लोकप्रिय छ, जहाँ मानिसहरू शारीरिक व्यायाम गर्न र कुकुर घुमाउन आउने गर्छन्।
अमेरिकी दूतावासको तर्फबाट यो अलर्ट यस्तो समयमा जारी गरिएको छ, जब रुस र युक्रेनबीच जारी युद्धलाई लिएर तनाव बढिरहेको छ। शुक्रबार युक्रेनले दक्षिणी रुसमा रहेको एक तेल रिफाइनरीलाई निशाना बनाएको थियो।
दुवै देशबीच ऊर्जा संरचनाहरूमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको दुई साताको विरामपछि यो आक्रमण भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment