अमेरिकाबाट चिप तस्करी मामिलामा एनभिडियाका सीईओमाथि अनुसन्धान

डिसी नेपाल
१५ कार्तिक २०८३ १४:४६
76
Shares

काठमाडौं । अमेरिकाले चीनलाई एडभान्स एआई चिप्स तस्करी गर्ने र बेइजिङका लागि संवेदनशील व्यावसायिक सूचनाहरू सङ्कलन गर्ने एक संदिग्ध सञ्जालमाथि तीव्र अनुसन्धान थालेको छ।

अमेरिकी अनुसन्धानकर्ताहरूले यस मामिलामा जासुसी र गुप्तचर सूचना सङ्कलनको कोणबाट समेत छानबिन गरिरहेका छन्, जसले विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ र अनुसन्धानको दायरामा आएका व्यक्तिहरूबीचको सम्बन्धतर्फ विश्वको ध्यान आकर्षित गराएको छ।

यस बहुचर्चित अनुसन्धानको केन्द्रमा एलिस हुआङ रहेकी छन्। उनी सिङ्गापुरमा आधारित डेटा सेन्टर कम्पनी ‘मेगास्पिड’ सँग जोडिएकी एक चिनियाँ व्यवसायी महिला हुन्।

‘द न्युयोर्क टाइम्स’ का अनुसार, उनीमाथि चीनका लागि व्यावसायिक र गुप्तचर सूचनाहरू सङ्कलन गरेको आशङ्का गरिएको छ र एनभिडियाका सीईओ जेन्सन हुआङसँग उनको निकट सम्बन्ध रहेको विवरणहरू सार्वजनिक भएका छन्।

एलिस हुआङ एक चिनियाँ नागरिक हुन्, जसले सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडमा वरिष्ठ कार्यकारी का रूपमा काम गरेकी थिइन्। उनको व्यक्तिगत जीवन वा सुरुआती करियरबारे धेरै विवरणहरू सार्वजनिक नभए पनि उनी पहिले चिनियाँ सरकारी सञ्चारमाध्यममा पत्रकार र पछि प्राइभेट बैंकरका रूपमा कार्यरत रहेकी थिइन्।

उनको व्यावसायिक पदले उनलाई विश्वव्यापी एआई चिप आपूर्ति शृङ्खलाको केन्द्रमा ल्याएर उभ्याइदिएको थियो। मेगास्पिडले एनभिडियाका अत्याधुनिक चिप्सबाट चल्ने कम्प्युटिङ उपकरणहरू खरिद गर्छ र मध्यस्थकर्ताका रूपमा काम गर्दै चिनियाँ टेक दिग्गज अलिबाबा लगायतका धेरै व्यवसायहरूलाई डेटा सेन्टर क्षमता भाडामा दिने गर्छ।

दक्षिणपूर्वी एसियाली देशहरूमा आधारित भएर काम गर्ने फर्महरूले एडभान्स एआई चिप्समा अमेरिकाले लगाएको निर्यात प्रतिबन्धलाई छल्न चिनियाँ व्यवसायहरूलाई मद्दत गरिरहेका छन् कि छैनन् भन्नेबारे अमेरिकी अधिकारीहरूले गम्भीर छानबिन गरिरहेका छन्। यही कारण मेगास्पिडको व्यावसायिक मोडेलमाथि ठूलो प्रश्न चिह्न खडा भएको छ।

छानबिनका क्रममा एलिस हुआङ मेगास्पिडमा सिनियर एक्जिक्युटिभ थिइन्। आफ्नो पद र कम्पनीको एनभिडियासँगको ठूलो कारोबारका कारण उनी एनभिडियाका सीईओ जेन्सन हुआङको प्रत्यक्ष सम्पर्कमा आएकी थिइन्। अमेरिकालाई उनीमाथि चीनलाई एनभिडिया चिप्स तस्करी गर्न मद्दत गरिरहेको आशङ्का पहिलेदेखि नै थियो, जसका कारण उनलाई निगरानी मा राखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *