प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

डिसी नेपाल
१६ कार्तिक २०८३ २०:०७
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत कडा जवाफ फर्काएका छन्। सोमबार साँझ ठिक ६ बजे फेसबुकमा एक छोटो स्ट्याटस लेख्दै थापाले आफू कसैसँग नतर्सिने स्पष्ट सन्देश दिएका हुन्।

‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ थापाले फेसबुकमा लेखेका छन्। सामान्यतया लामा-लामा स्ट्याटस तथा भिडिओ सन्देशमार्फत आफ्ना धारणा राख्ने थापाले यसपटक भने संक्षिप्त तर अर्थपूर्ण शैली रोजेका छन्।

यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले पनि सामाजिक सञ्जालमा चेतावनीपूर्ण शैलीमा छोटो स्ट्याटस पोस्ट गरेका थिए। शाहले लेखेका थिए, ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

सभापति थापाले आफ्नो स्ट्याटसमा ‘ठिक १८:०० बजेको छ’ भनी समय उल्लेख गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ। पछिल्लो समय नेपाली कांग्रेसको १५औँ महाधिवेशन/विशेष महाधिवेशन तथा त्यसपछि निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता अद्यावधिक गराउने प्रक्रियालाई लिएर राजनीतिक वृत्तमा निकै विवाद र बहस चलिरहेको छ। आयोगबाट आधिकारिकता प्राप्त गर्ने क्रममा १८ करोड रूपैयाँको आर्थिक लेनदेन भएको दाबीसहितका समाचारहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाहिरिएका छन्।

सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर उक्त भारी रकम लेनदेन भएको आरोप लगाइएको छ। यद्यपि, नेपाली कांग्रेसले भने ती सम्पूर्ण आरोपहरूको खण्डन र तीव्र प्रतिवाद गर्दै आएको छ।

पार्टी विधान र कानुनी प्रक्रिया अपनाएरै महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति अद्यावधिक गरिएको स्पष्ट पार्दै कांग्रेसले पार्टीको छवि धुमिल बनाउन र भ्रम सिर्जना गर्न योजनाबद्ध तानाबाना बुनिएको भन्दै आपत्ति जनाएको छ। यही १८ करोडको चर्चा र प्रधानमन्त्रीको चेतावनीको पृष्ठभूमिमा सभापति थापाले साँझको ठिक ६ बजे (१८:०० बजे) नै स्ट्याटस पोस्ट गरेर त्यसको व्यंग्यात्मक प्रतिवाद गरेको विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *