बिचौलिया सापकोटासँगको संवाद बाहिरिएपछि न्यायाधीश फुयाल बिदामा
काठमाडौं। बिचौलिया इनम सापकोटासँग विचाराधीन मुद्दाका विषयमा भएको कुराकानीको स्क्रिनसट र संवाद बाहिरिएपछि तीव्र विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मङ्गलबारदेखि बिदामा बसेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीका अनुसार न्यायाधीश फुयालले प्रधानन्यायाधीश मनोजकुमार शर्मासमक्ष आज कात्तिक १७ गतेदेखि २० गतेसम्मका लागि चार दिनको बिदा स्वीकृत गराएका छन्। कात्तिक २० गतेपछि तिहारको सार्वजनिक बिदा सुरु हुने भएकाले फुयाल कम्तीमा पनि कात्तिक २७ गतेअघि अदालत फर्कने छैनन्।
यसअघि सम्पत्ति शुद्धीकरण र अस्वाभाविक पहुँचको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटाको मोबाइल तथा विद्युतीय उपकरण अनुसन्धानका क्रममा न्यायाधीश फुयालसँगको ह्वाट्सएप संवाद बाहिरिएको थियो।
सो संवादमा व्यवसायी रोहित गुप्तासम्बन्धी मुद्दा खारेज गराउन सापकोटाले प्रधानमन्त्रीको चासो रहेको भन्दै सन्देश पठाएको र न्यायाधीश फुयालले २ करोड धरौटी मागिएको आदेशको लिंक पठाउँदै होटल हिमालयमा भेट्न बोलाएको विवरण सार्वजनिक भएको छ।
न्यायाधीश फुयालले सापकोटासँग भेटघाट र संवाद भएको स्वीकार गरे पनि अनुचित लेनदेन र प्रभावमा परेर निर्णय नगरेको दाबी गर्दै आएका छन्।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले बिचौलिया सापकोटा र न्यायाधीशबिचको सम्बन्ध तथा नाम जोडिएका विषयमा सत्यतथ्य निष्पक्ष छानबिन गर्न अनुसन्धानकारी निकायहरूलाई आग्रह गर्ने निर्णय गरिसकेको छ।
नेपाल बार एसोसिएसन र नागरिक समाजले पनि यस प्रकरणको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग राख्दै आएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment