पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता (तस्बिरहरु)

डिसी नेपाल
१८ कार्तिक २०८३ ८:५८

लन्डन । विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५ (बिहीबार) सम्म चल्नेछ ।

‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील बनाउने विषयलाई प्राथमिकता दिएको छ । प्रविधि, नवप्रवर्तन र सिर्जनशीलतामार्फत विश्व पर्यटनको भविष्यलाई नयाँ दिशा दिने विषय पनि मेलाको मुख्य अवधारणामा समेटिएको छ ।

विश्व पर्यटन उद्योगको महत्त्वपूर्ण व्यापारिक मञ्चका रूपमा परिचित यस मेलामा विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल तथा आतिथ्य सेवा प्रदायक, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

आयोजकका अनुसार यस वर्ष ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन्। त्यस्तै, १८० भन्दा बढी देशबाट ४६ हजार ५०० भन्दा बढी पर्यटन व्यवसायी, विज्ञ तथा खरिदकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेलामा नेपालको सक्रिय सहभागिता

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान विस्तार तथा नेपाली पर्यटन गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ वटा नेपाली पर्यटन, होटल, वायुसेवा, ट्राभल तथा ट्रेकिङ कम्पनीले मेलामा सहभागिता जनाएका छन्।

नेपाली व्यवसायीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र विविध पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिरहेका छन्। मेलामार्फत विदेशी टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने र नयाँ साझेदारीका अवसर खोज्ने अपेक्षा गरिएको छ।

नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले पनि मेलामा सहभागिता जनाए। उहाँको सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको पर्यटन प्रवद्र्धन, नीतिगत सहकार्य र व्यापारिक सम्बन्ध विस्तारका विषयमा संवाद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

सन् २०२६ मा विश्वभर १ अर्ब ५७ करोड पर्यटक पुग्ने प्रक्षेपण

मेलाको पहिलो दिन सार्वजनिक गरिएको ग्लोबल ट्राभल रिपोर्ट २०२६ अनुसार सन् २०२६ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटक आगमन दुई प्रतिशतले वृद्धि भई १ अर्ब ५७ करोड पुग्ने अनुमान गरिएको छ। प्रतिवेदनले युरोपमा पर्यटक आगमन पाँच प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।

त्यस्तै, विश्वव्यापी पर्यटन खर्च नौ प्रतिशतले वृद्धि भई ७।८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। बढ्दो हवाई भाडा, महँगी तथा अन्तर्राष्ट्रिय द्वन्द्वजस्ता चुनौतीका बाबजुद विश्व पर्यटनप्रतिको माग बलियो रहेको प्रतिवेदनले देखाएको छ।

मन्त्रीस्तरीय सम्मेलन र पर्यटनका नयाँ प्रवृत्तिमा छलफल

मेलाको अर्को प्रमुख आकर्षण विभिन्न देशका पर्यटन मन्त्रीहरूको सहभागितामा आयोजना हुने मन्त्रीस्तरीय शिखर सम्मेलन हो। सम्मेलनमा विश्व पर्यटनको दिगो विकास, नीतिगत सहकार्य, जलवायु परिवर्तनको प्रभाव, पर्यटन क्षेत्रको उत्थानशीलता तथा समावेशी पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, मेलामा सार्वजनिक गरिएको विश्वव्यापी पर्यटन प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा विकसित भइरहेका नयाँ प्रवृत्ति, पर्यटकको बदलिँदो रुचि, यात्रा व्यवहार तथा भविष्यमा देखिन सक्ने व्यावसायिक अवसरबारे जानकारी प्रस्तुत गरेको छ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण अवसर

डब्ल्यूटीएम लन्डन विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा सेवा प्रदायकबिच व्यावसायिक सम्बन्ध स्थापित गर्ने र नयाँ व्यापारिक साझेदारीका अवसर खोज्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो।

नेपालका लागि पनि यस मेलाले अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटकीय गन्तव्यको पहिचान विस्तार, विदेशी पर्यटक आगमन वृद्धि, पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग सहकार्य विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालले आफ्नो पर्यटन सम्भावनालाई विश्व बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सके यस प्रकारका अन्तर्राष्ट्रिय व्यापारिक मेलाले नेपालको पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *