बालेनको भारत भ्रमणको तयारी तीव्र, भारतीय विदेश सचिव मिश्रीले आजै उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।
आज बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने मिश्रीले आजै नेपालका उच्चपदस्थ अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने तयारी छ। त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि आजै शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ। यद्यपि, प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट हुन नसके भोलि हुन सक्ने स्रोतको भनाइ छ।
मिश्रीले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललगायतसँग पनि शिष्टाचार भेट गर्ने तयारी गरेका छन्।
काठमाडौंमा उच्चस्तरीय भेटघाट सकेर उनी भोलि कात्तिक १९ गते अपराह्न भारत फर्किने कार्यक्रम छ।
बालेनको भारत भ्रमणको तयारी तीव्र
भारतीय विदेश सचिव मिश्रीको यसपटकको नेपाल भ्रमणलाई प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणसँग जोडेर हेरिएको छ।
यसअघि प्रधानमन्त्री बालेनसँग भेटघाटको समय नमिलेपछि तय भइसकेको उनको भारत भ्रमणसमेत स्थगित भएको समाचार सार्वजनिक भएको थियो। त्यसैले अहिले मिश्रीको काठमाडौं भ्रमण र उच्चस्तरीय भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ।
नेपाल र भारत दुवै देशका अधिकारीहरू प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साताका लागि तय गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ। यही तयारीका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन्।
यसअघि कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति परराष्ट्र मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। भारतीय विदेश सचिव मिश्रीको अहिलेको भ्रमणपछि भ्रमणको मिति सार्वजनिक हुन सक्ने बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment