८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

८ हजार मिटरमाथिका थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको पर्वतारोहण क्षेत्रलाई ठूलो लाभ हुन्छ : फुर गेल्जे शेर्पा

डिसी नेपाल
१८ कार्तिक २०८३ १०:१९

काठमाडौं। नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन कूटनीतिक तथा औपचारिक पहल तीव्र बनाएको छ।

हाल विश्वव्यापी रूपमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मात्र स्वतन्त्र शिखरका रूपमा मान्यता दिइँदै आएकोमा नेपालको यो नयाँ प्रस्ताव स्वीकृत भएमा यस्ता हिमालको संख्या बढेर २० पुग्नेछ।

नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय पहिचान तथा पहुँच विस्तार गर्ने उद्देश्यका साथ नेपाल सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत उक्त प्रस्ताव अघि बढाएको हो।

विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ मा आयोजना हुने साधारणसभाका अवसरमा नेपालले यी थप ६ हिमाललाई छुट्टै शिखरको दर्जा दिन औपचारिक प्रस्ताव पेस गरेको छ।

नेपालले अन्तर्राष्ट्रिय मान्यताका लागि प्रस्ताव गरेका हिमालहरूमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम रहेका छन्। प्रस्तावित हिमालहरूमध्ये:

  • यालुङ काङ: ८,५०५ मिटर

  • कञ्चनजङ्घा दक्षिण: ८,४७६ मिटर

  • कञ्चनजंघा मध्य: ८,४७३ मिटर

  • ल्होत्से मध्य: ८,४१० मिटर

  • ल्होत्से शार: ८,४०० मिटर

  • यालुङ काङ पश्चिम: ८,०७७ मिटर

यी हिमालहरूलाई छुट्टाछुट्टै शिखरका रूपमा विश्वभर मान्यता दिलाउन सकिएमा नेपालको पर्वतारोहण क्षेत्रको साख र पहिचान थप उँचो हुने अपेक्षा गरिएको छ। यसका साथै, नयाँ आरोहण गन्तव्यहरूको पहिचान र प्रवर्द्धन हुँदा हिमाली पर्यटन, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधि विस्तारमा ठूलो सहयोग पुग्ने सरोकारवालाहरूको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले नेपालका नयाँ र आरोहणयोग्य हिमालहरूको पहिचान गरी तिनलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउन निरन्तर प्रयास भइरहेको जानकारी दिए।

आचार्यका अनुसार हिमालको वास्तविक उचाइ यकिन गर्ने, उपयुक्त नामकरण गर्ने तथा स्थानीय र परम्परागत पहिचानलाई समेट्ने विषय यस प्रक्रियाका मुख्य आधार हुन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि ती हिमालहरूलाई औपचारिक रूपमा आरोहणका लागि खुला गर्ने र तिनको व्यवस्थापनलाई अझ व्यवस्थित र सुरक्षित बनाउने सरकारको तयारी रहेको उनले बताए।

‘हाम्रा हिमालहरू विश्वभरका आरोहीका लागि मुख्य आकर्षण हुन्। थप हिमालको पहिचान र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रमा प्रत्यक्ष र दीर्घकालीन लाभ पुग्छ,’ आचार्यले भने।

उनले हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेसँगै आरोहण अनुमति प्रणाली, पर्यटकीय पूर्वाधार र सुरक्षा व्यवस्थापनलाई पनि उत्तिकै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

मौसमको पूर्वसूचनाका आधारमा आरोहीहरूलाई आवश्यक जानकारी उपलब्ध गराउने तथा स्थानीय प्रहरी र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी आरोहण गतिविधिको अनुगमन गर्ने गरिएको उनले बताए।

अन्तर्राष्ट्रिय मान्यताका लागि नेपालको प्रयास

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सकिएमा त्यो नेपालको पर्वतारोहण क्षेत्रका लागि एक ऐतिहासिक र महत्वपूर्ण उपलब्धि हुने बताए।

उनका अनुसार नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएको र ती हिमालमा आरोहीहरूले सफलतापूर्वक आरोहण गरिसके तापनि अन्तर्राष्ट्रिय समुदायले भने तिनलाई अझै छुट्टाछुट्टै हिमालका रूपमा औपचारिक स्वीकृति दिइसकेको छैन।

‘नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएको छ। ती हिमालमा आरोहीहरूले आरोहणसमेत गरिसकेका छन्। तर अन्तर्राष्ट्रिय समुदायले भने अझै त्यसलाई औपचारिक मान्यता दिएको अवस्था छैन,’ शेर्पाले स्पष्ट पारे।

थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा पर्वतारोहण गतिविधि व्यापक रूपमा विस्तार हुनुका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा अझ बढ्ने उनको ठहर छ। नयाँ हिमाल आरोहणका लागि खुला हुँदा स्थानीयस्तरमा होटल, यातायात, भरिया, गाइड तथा अन्य पर्यटकीय सेवामा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुने उनले बताए।

‘यसबाट नेपालको पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै कुल गार्हस्थ्य उत्पादन (GDP) मा महत्त्वपूर्ण योगदान पुग्नेछ र रोजगारीका नयाँ ढोकाहरू खुल्नेछन्। पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवाहरूका लागि पनि यसले रोजगारीको राम्रो बाटो खोल्नेछ,’ उनले थपे।

नयाँ हिमालले स्थानीय अर्थतन्त्रमा ल्याउने अवसर

अध्यक्ष शेर्पाका अनुसार थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा विशेषगरी कञ्चनजङ्घालगायतका पूर्व र अन्य हिमाली क्षेत्रहरूमा पर्यटन गतिविधि विस्तार गर्न ठूलो सहयोग पुग्नेछ।

सगरमाथा क्षेत्रमा पर्वतारोहण र पर्यटनका कारण आर्थिक गतिविधि तीव्र बनेझैँ नयाँ हिमालको पहिचानले अन्य ओझेलमा परेका हिमाली क्षेत्रको पूर्वाधार, पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए।

उनका अनुसार हाल मनास्लु, हिमलुङ, अन्नपूर्ण, धौलागिरि, कञ्चनजंघा र बरुञ्चेलगायतका हिमालहरू विदेशी पर्वतारोहीको पहिलो रोजाइमा पर्ने गरेका छन्। पर्वतारोहीहरूले आफ्नो अनुभव, दक्षता र क्षमताअनुसार सुरुमा ६ हजार र ७ हजार मिटरका हिमाल आरोहण गर्दै क्रमशः आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने लक्ष्य राख्ने गर्छन्।

तर, नेपालका सबै हिमाली गन्तव्यहरूमा सहज यातायात र सडक पहुँच नहुँदा पर्यटन प्रवर्द्धनमा ठूलो चुनौती रहेको शेर्पाले बताए। विशेष गरी पश्चिम नेपालका हिमालहरूसम्म पुग्न निकै कठिन र खर्चिलो रहेको उनको भनाइ छ।

केही पर्यटकीय गन्तव्यसम्म पुग्न आन्तरिक हवाई यात्रामै करिब ९०० अमेरिकी डलरसम्म खर्च हुने विषम परिस्थिति रहेको उनले जानकारी दिए। हिमाली गन्तव्यहरूसम्मको पहुँच सहज र सुलभ बनाउन सके नयाँ क्षेत्रको पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि भरपर्दो रोजगारीको अवसर सिर्जना हुने उनले बताए।

सगरमाथाबाट मात्रै ६० प्रतिशत रोयल्टी

नेपालमा हिमाल आरोहणबाट संकलन हुने कुल रोयल्टी रकममा सगरमाथाको योगदान मात्रै करिब ६० प्रतिशत रहेको पर्यटन मन्त्रालयका प्रवक्ता आचार्यले जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहणबाट प्राप्त हुने रोयल्टीले नेपालको पर्वतारोहण क्षेत्रको समग्र आम्दानीमा मुख्य र ठूलो हिस्सा ओगटेको छ।

उनले चालु आरोहण सिजनमा सगरमाथाबाट ठ्याक्कै कति रोयल्टी संकलन हुनेछ भन्ने यकिन विवरण भने तत्काल उपलब्ध नरहेको र त्यसका लागि सम्बन्धित विभाग (पर्यटन विभाग) बाट आधिकारिक तथ्यांक लिनुपर्ने स्पष्ट पारे।

नेपालमा पछिल्लो समय हिमाल आरोहण तथा पदयात्राका लागि विदेशी पर्यटकहरूको आकर्षण उच्च नै रहेको आचार्यले बताए। विशेष गरी मनास्लु क्षेत्रलगायतका हिमाली गन्तव्यहरू विदेशी पर्यटक तथा साहसिक आरोहीहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ छ।

यद्यपि, पछिल्लो समय देशमा भएका प्राकृतिक विपत्तिका घटनाहरूले नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक असर पारेको पर्वतारोहण संघका अध्यक्ष शेर्पाले स्वीकार गरे।

उनका अनुसार विपत्तिलगत्तै विदेशी पर्यटकहरूको बुकिङमा करिब २० देखि ३० प्रतिशतसम्म रद्द (Cancel) भए तापनि परिस्थिति सामान्य बन्दै जाँदा अपेक्षा गरिएभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए।

नेपालका हिमालहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयाससँगै यातायात पहुँच, पूर्वाधार, सुरक्षा र प्रवर्द्धनात्मक प्रचारप्रसारमा राज्यले लगानी बढाउन सके पर्वतारोहण पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ हिमाली क्षेत्रका दूरदराजका स्थानीय समुदायसम्म प्रत्यक्ष रूपमा पुर्‍याउन सकिने उनको निष्कर्ष छ।

पार्वती भण्डारी/ नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *