कञ्चनपुरमा कात्तिक २७ देखि समर्थन मूल्यमा धान खरिद गरिने
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरमा कात्तिक २७ गतेदेखि किसानबाट समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ।
कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ।
प्राथमिक खरिद समिति कञ्चनपुरको बैठकले गरेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय महेन्द्रनगरले धान खरिद गर्न लागेको हो।
कम्पनीका अनुसार धान बिक्री गर्न चाहने किसानलाई कात्तिक १९ र २० गते कार्यालय परिसरबाट कुपन वितरण गरिनेछ।
कुपन प्राप्त गरेका किसानले तोकिएको मितिमा महेन्द्रनगरस्थित गोदाममा धान ल्याउनुपर्नेछ। कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा धानको काँटा गरी खरिद गरिने कम्पनीले जनाएको छ।
कम्पनीले एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्र धान खरिद गर्नेछ। धानमा पराल, भुस, पोकटा, माटो र ढुङ्गा मिसिएको हुनुहुँदैन। नमुना परीक्षणबाट गुणस्तर सुनिश्चित भएपछि मात्र धान काँटा गरिने सूचनामा उल्लेख छ।
धान बिक्री गर्नुअघि कुपन लिन अनिवार्य गरिएको छ। कुपनमा उल्लेख भएको मितिमा धान नल्याए कम्पनीले खरिद गर्न बाध्य नहुने जनाएको छ। खरिद गरिएको धानको रकम किसानको बैंक खातामा सिधै जम्मा गरिनेछ।
कुपन लिन आउँदा किसानले जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ। जग्गा ठेक्कामा लिएर खेती गर्ने किसानले ठेक्का सम्झौता वा वडा कार्यालयको सक्कल सिफारिसपत्र पेस गर्नुपर्नेछ।
त्यस्तै, धान बिक्री गर्ने समयमा किसानको पहिचानका लागि सम्बन्धित वडा कार्यालयले जारी गरेको सिफारिसको सक्कल प्रति अनिवार्य बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment