शरद ऋतुमा हिमाल आरोहणप्रति अन्तर्राष्ट्रिय आकर्षण: करिब ३२ करोड ४० लाख राजस्व संकलन
काठमाडौं। चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार कार्तिक १२ गतेसम्म विश्वका विभिन्न ७६ देशका १७१ वटा आरोही टोलीबाट कुल १,४९३ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अनुमति लिनेमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यस सिजनमा सबैभन्दा बढी आरोहीको चाप ८,१६३ मिटर उचाइको मनास्लु हिमालमा देखिएको छ। मनास्लु आरोहणका लागि मात्र ४३ टोलीका ५०० जना (३७३ पुरुष र १२७ महिला) ले अनुमति पाएका छन्।
यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जना (३११ पुरुष र १०१ महिला) ले अनुमति लिएका छन्। यस्तै हिम्लुङ हिमालमा १३० जना, बरुण त्सेमा ६५ जना र थापा पिकमा ५५ जना आरोहीहरू रहेका छन्।
देशगत आधारमा हेर्दा सबैभन्दा बढी चीनबाट १४२ जना आरोही नेपाल आएका छन्। त्यसैगरी फ्रान्सबाट १३६, संयुक्त राज्य अमेरिकाबाट १२१, रुसबाट ११३, युनाइटेड किंगडमबाट १०२, जर्मनीबाट ९७, इटालीबाट ६३, स्पेनबाट ५५, नर्वेबाट ३२ तथा भारतबाट ४० जना आरोहीले अनुमति पाएका छन्। यस सिजनमा नेपालबाट पनि ३७ पुरुष र ३ महिला गरी कुल ४० जना स्वदेशी नागरिकले हिमाल आरोहणका लागि स्वीकृति लिएका छन्।
हिमाल आरोहणको रोयल्टीबापत नेपाल सरकारले यस शरद ऋतुमा कुल २१ लाख २८ हजार १०९ अमेरिकी डलर अर्थात् करिब ३२ करोड ३७ लाख ८८ हजार ९९० नेपाली रुपैयाँ राजस्व संकलन गरेको छ।
संकलित कुल रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालको रहेको छ, जसबाट १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर (करिब २२ करोड ५८ लाख रुपैयाँ) संकलन भएको छ। दोस्रो स्थानमा रहेको आमादब्लम हिमालबाट ४ लाख ४ हजार अमेरिकी डलर (करिब ६ करोड १६ लाख रुपैयाँ) राजस्व उठेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment