जिम्मेवारीपूर्ण अभिव्यक्तिको खाँचो
गत वर्ष नेपालको जेनजी आन्दोलनको ठीकअघि क्यानाडाको भ्रमणका क्रममा म र मेरा एक जना उतै बसोबास गर्ने अभिन्न मित्रले टोरन्टोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग भेट्ने अवसर पाख्यौं।
सोही अवसरमा उनका दुईवटा अन्तरक्रिया कार्यक्रममा भाग लिने मौका पनि मिल्यो। त्यहाँ उपस्थित नेपाली डायस्पोरामध्ये कतिपय निकै शिक्षित र बुझक्कड भेटिए भने कतिपय नेपालकै दलहरूका झोले तथा अति नै संस्कारहीन व्यक्तिहरू पनि मलाई भेटिए। त्यस्ता कुसंस्कारी र तल्लो स्तरका मानिसहरू विकसित राष्ट्रमा पुगेर पनि मुलुकको बेइज्जती गर्दै हिँडेको देख्दा निकै दुःख लाग्यो।
त्यहाँ उपस्थित शिक्षित डायस्पोराहरूले डा. स्वर्णिम वाग्लेलाई नेपालको आर्थिक विकासका लागि गर्नुपर्ने कामहरू र त्यसमा विदेशमा बस्ने नेपालीहरूको दायित्व कस्तो हुनुपर्छ भन्ने विषयमा प्रश्न गरेका थिए।
लामो समयपछि नेपालले एक सक्षम परराष्ट्र मन्त्री पाएको छ। आशा छ, प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको भारत भ्रमण पनि नेपालको हित र दुई देशबीचको असल सम्बन्धका लागि निकै महत्त्वपूर्ण र सफल सावित हुनेछ।
वाग्लेले नेपाल अति नै विपन्न राष्ट्र भएकाले आफ्नो दलले सरकार बनाएमा र आफू अर्थमन्त्री भएमा पनि कुनै जादु गरिहाल्न नसक्ने स्पष्ट पार्नुभयो। नेपालसँग सीमित आर्थिक स्रोत र साधन रहेकाले तिनको परिचालन निकै सोचविचारपूर्ण योजनाका साथ गरेमा हालको भन्दा निकै राम्रो काम गर्न भने सकिने उहाँको भनाइ थियो।
नेपालले स्विट्जरल्याण्ड वा सिंगापुर बन्ने सपना देख्नुभन्दा पनि हालको कम्बोडिया वा श्रीलंकाजस्तो स्तरको अर्थतन्त्र बन्ने सोच राख्नुपर्ने कुरा पनि उहाँले बताउनुभयो।
त्यस्तै, त्यहाँ उपस्थित कुसंस्कारी र छुल्याहा प्रवृत्तिका नेपालीहरूले भने उहाँको दल र रवि लामिछानेलाई गाली गर्ने तथा अन्य भ्रष्ट दलहरूको समर्थनमा बोल्दै अप्ठ्यारा राजनीतिक प्रश्न तेस्रोप्न थाले।
तिनको जवाफमा स्वर्णिमले आफू राजनीतिक कुरा गर्न नभई विकासे सेमिनारमा भाग लिन तथा सोही अवसरमा नेपाली डायस्पोरालाई भेटेर भलाकुसारी गर्न मात्र समारोहमा उपस्थित भएको प्रष्ट पार्नुभयो।
स्वर्णिमका यी सबै कुराले मलाई निकै प्रभावित पारेको थियो। उहाँको वाककला, स्पष्ट विचार, हँसिलो व्यवहार तथा भद्र पहिरनबाट अधिकांश सहभागी खुसी देखिन्थे। क्यानाडाका केही सांसद, अर्थशास्त्री तथा नेपाली व्यापारी, उद्यमी र विद्यार्थीको उपस्थिति रहेको उक्त समारोहमा स्वर्णिमले नेपालको इज्जत जोगाएको कुरा पनि पछि सुनेको थिएँ।
भ्रमणका यी क्षणहरूले उहाँप्रतिको मेरो अघिल्लो एउटा नमिठो छापबाट समेत मुक्ति दिलाएको थियो। केही वर्षअघि उहाँले एउटा समारोहमा ‘नेपालको कुनै पनि मुलुकसँग युद्ध नहुने भएकाले नेपाली सेनाको औचित्य छैन र यस संस्थाका लागि त्यति धेरै बजेट विनियोजन गर्नु भुल हो’ भनी बोल्दा म निकै अचम्मित भएको थिएँ।
नेपालको एकीकरणको समयदेखि मुलुकको बाह्य र आन्तरिक सुरक्षामा जुटिरहेको र हालको बदलिँदो परिस्थितिमा समयसापेक्ष परिमार्जनका साथ अघि बढिरहेको सेनालाई काम नलाग्ने भन्दा मलाई निकै रिस पनि उठेको थियो।
हुन सक्छ, नेपाली सेना र अन्य सुरक्षा निकायमा पनि भ्रष्टाचार र अनियमितता मौलाएको होला। तर अबको सरकारले त त्यस्ता कुकार्य हुन नदिने उपायहरू अवलम्बन गरेर यी संस्थाहरूलाई अझ सक्षम र स्फूर्त बनाउने पो कोसिस गर्नुपर्छ।
वडामहाराजा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले नेपालमा गणतन्त्र स्थापना हुँदा पनि आफूलाई सोहीअनुरूप प्रजातान्त्रिकरण गरेर नयाँ रूपमा उभ्याउन सक्नु त्यति सहज कुरा थिएन।
त्यस्तै, मुलुकभित्र हुने कुनै पनि दैवीप्रकोपको बेला अन्य सुरक्षा बलको समेत नेतृत्व गर्दै आफ्नो ज्यानको पर्वाह नगरी गरिएको सेवा कुनै युद्धभन्दा कम हुँदैन। मुलुकको विकासमा नेपाली सेनाको उत्तिकै योगदान रहँदै आएको छ।
विकट ठाउँहरूमा आज सडक सञ्जाल पुग्नुमा सेनाको प्रमुख भूमिका रहेको छ। त्यस माथि, विश्वका विभिन्न स्थानमा शान्ति स्थापना गर्न शान्ति सेनाको रूपमा नेपाली सेनाले कमाएको इज्जत के अति सराहनीय छैन र?
आज नेपालमा नेपाली सेनाबाहेक अनुशासित कुन चाहिँ निकाय बाँकी छ र? तर यस्तो संस्थालाई पनि विभिन्न तवरले राजनीतिकरण गर्न र भ्रष्ट बनाउन खासगरी गणतन्त्रपछिका सरकारहरूले निकै कोसिस गरेका छन् र कताकता यो संस्थाले बेलाबेलामा बाटो बिराएको जस्तो पनि भान हुने गर्दछ।
ज जुनसुकै दलले सरकार बनाए पनि के बुझ्न जरुरी छ भने, मुलुकमा आइपर्ने विभिन्न प्रकारका प्राकृतिक विपत्ति, राजनीतिक उथलपुथल, विकास कार्य तथा सीमा, ठूला आयोजना र औद्योगिक सुरक्षाजस्ता जटिल कामदेखि आमनिर्वाचनसम्ममा सुरक्षा दस्ताको महत्त्व निकै बढी हुन्छ।
नेपालको कुल जनसंख्याको करिब दुई प्रतिशत बराबरको अति तालिम प्राप्त र नवीन प्रविधिले परिपूर्ण सुरक्षा निकायको खाँचो नेपालमा सधैँ परिरहने छ। विश्व शान्तिको कार्यमा नेपाली सेना र प्रहरीको सहभागिताले नेपालको इज्जत पनि निकै उँचो बनाएको छ र यो कार्यलाई निरन्तरता दिइरहनुपर्छ।
उच्च शिक्षा हासिल गरेका, विदेशी संस्थाहरूमा माथिल्लो पदमा बसेर काम गरेका, नेपालमा पनि योजना आयोगजस्ता महत्त्वपूर्ण निकायलाई नेतृत्व प्रदान गरिसकेका र हाल अर्थमन्त्रीको रूपमा समेत सफलताका साथ काम गरिरहेका स्वर्णिमको बारेमा नकारात्मक टिप्पणी गर्न मिल्ने कमै क्षेत्र हुन सक्छन्।
नेपाली कांग्रेसमा विकृति आउन थाल्नुका साथै काम गर्न अवसर नै नदिने बेकम्मा, वृद्ध तथा भ्रष्ट नेताहरूका कारण पार्टी परित्याग गर्नेहरूमा उनी अग्रणी व्यक्ति हुन् भने आमनिर्वाचनमा हालका राष्ट्रपतिलाई समेत हराउन सफल व्यक्तित्व हुन्। हाल पनि तनहुँको उही निर्वाचन क्षेत्रबाट अत्यधिक बहुमतका साथ विजयी भएका उनी आफ्नो दलका निकै उच्च पदाधिकारी हुन्।
चुनावमा पुराना, भ्रष्ट र अराजक दलहरू सोत्तर भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई यति ठूलो बहुमत प्राप्त हुनु भनेको जनताले यो दलमाथि ठूलो आशा र भरोसा राखेका छन् भन्ने प्रमाण हो। जुनसुकै दलमा पनि केही अति अराजक र तुच्छ स्वभावका व्यक्तिहरू हाबी भएका हुन्छन् र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित केही सांसदहरू पनि त्यस्तै भेटिन्छन्।
तर स्वर्णिम, रवि वा बालेन र अन्य जिम्मेवार नेताहरूले अरूभन्दा फरक बन्न र यो मुलुकलाई नयाँ बाटो तथा उचाइमा लैजान अति नै राम्रो आचरण प्रदर्शन गर्दै दिलोज्यानका साथ राष्ट्र निर्माणको काममा जुट्नु जरुरी छ। माथिल्लो तहका मानिस राम्रा भए मात्र तल्लो तप्काका मानिस पनि मेहनती र इमानदार बन्दै जान्छन्।
आर्थिक विकासमा मुलुकको परराष्ट्र नीति र कूटनीतिको पनि निकै महत्त्वपूर्ण स्थान रहन्छ। त्यसमाथि नेपालजस्तो दुई विशाल र शक्तिशाली मुलुकको बीचमा अवस्थित देशले निकै संवेदनशीलताका साथ आफ्नो कूटनीतिक चरित्र प्रदर्शन गर्न सक्नुपर्छ।
पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुङ्गाको तरुल’ त्यसै भनेका थिएनन्। एकातिर बेलायती साम्राज्य बलियो बन्दै गएको अवस्था थियो भने अर्कातर्फ हामीले तिब्बतसँगको युद्धमा पटकपटक विजय हासिल गरेको भए पनि त्यस क्षेत्रको वास्तविक मालिक चीनले युद्धभूमिमा आएर नेपालीलाई हाम्रो सीमाक्षेत्रसम्म खदेडिरहन्थ्यो।
त्यस्तो अवस्थाबाट पनि हामीले के बुझ्न जरुरी छ भने, तिब्बत परापूर्वकालदेखि नै चीनको अभिन्न अंग थियो भने अहिले हामीले विदेशीको भूराजनीतिक चाललाई सफल पार्न सघाउँदैमा न त चीनलाई न भारतलाई नै थोरै पनि परास्त गर्ने बाटो बनाइदिन सक्छौँ।
तसर्थ, हामीले अन्तर्राष्ट्रिय राजनीति र विकसित राष्ट्रहरूको भारत तथा चीनप्रतिको नकारात्मक नीतिलाई सघाउ पुग्ने काम गर्नु र नेपाललाई रणभूमि बनाउनु भन्दा यी दुई मुलुकसँग पहिलेदेखि रहेको सुमधुर सम्बन्ध कसरी कायम गर्ने भन्नेमा बढी ध्यान दिनुपर्छ।
नेपालको परराष्ट्र नीतिको मूल मन्त्र नै भारत र चीनसँगको सम्बन्धमा कुनै कटुता नआउने कुराको प्रत्याभूति दिलाउन सक्ने खालको हुनुपर्छ। त्यसपछि मात्र अन्य छिमेकी र बाँकी विश्व तथा नेपाललाई माया र सहयोग गर्ने मुलुक र संस्थाहरूसँगको सम्बन्धको कुरा गर्न मिल्छ।
यो कुरालाई मूल मन्त्र मानेर नेपालले अवलम्बन गर्ने कूटनीतिको पाटोमा सबै दल तथा सरकारबीच राष्ट्रिय सहमति कायम गर्न सक्नुपर्छ। भारतमा जुनसुकै दलको सरकार बने पनि कतिपय यस्ता संवेदनशील विषयमा राष्ट्रिय सहमति जुटाइएको हुन्छ।
हालै अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका बेला उहाँले एक उच्च अन्तरक्रिया कार्यक्रममा भारतीय विदेशमन्त्रीको अगाडि ‘नेपालका यसअघिका सरकारहरू भारतविरोधी रहे पनि हालको सरकारले त्यस्तो काम नगर्ने’ कुरा बताउनुभयो।
सुन्दा निकै मीठो लाग्ने र भारतलाई खुसीसमेत पार्न सकिने त्यो अभिव्यक्ति वास्तवमा त्यति सान्दर्भिक हुन सकेन। हो, हामी तीनतिरबाट भारत र एकतिरबाट चीनले घेरिएको भूपरिवेष्टित मुलुक नेपालका बासिन्दा हौँ।
तर हामीले कूटनीतिक प्रयासबाट नै आफ्नो मुलुकले पाउनुपर्ने सबै प्रकारका जायज सुविधा यी देशबाट प्राप्त गर्नुपर्छ भने आफ्नो अस्मिता जोगाउनेदेखि सीमा सुरक्षा, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हस्तक्षेपबाट पनि बच्ने शान्तिपूर्ण उपायहरूको खोजी गर्ने र तिनलाई अवलम्बन गर्ने कार्य गरिरहनुपर्छ।
सन् १९५० पछि भारतले नेपालमा चारपटक नाकाबन्दी गरिसकेको छ र त्यस्ता समयमा नेपाली जनताले चरम यातना, दुःख तथा अभाव भोग्न बाध्य भएका थिए। भारतले नेपालमा राणाशासनको अन्त्यलगत्तै मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा नेपाल-चीन सीमाका १८ नाकामा सुरक्षा चेकपोस्ट स्थापना गरेकोमा राजा महेन्द्रको सशक्त कूटनीतिक प्रयासका कारण नेहरूलाई मनाएर १७ वटा चेकपोस्ट बन्द गराइएका थिए।
तर नेहरूको आग्रहमा कालापानी-लिपुलेकको चेकपोस्ट र त्यो क्षेत्र केही समयपछि मात्र खाली गर्ने सहमतिमुताबिक भारतले करिब ४५० वर्गकिलोमिटर (इजरायल र प्यालेस्टाइनको गाजा जत्रै) क्षेत्रको उपयोग गर्दै आएकोमा हाल आएर त्यो सब उसैको भूभाग हो भनी फिर्ता गर्न इन्कार गर्याे।
पछि संसदका अधिकांश सदस्यहरूले सही गरेर त्यो भूभाग नेपालको भएको जिकिर गर्दै चुच्चे नक्सा नै प्रकाशन गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यस्तै, नेपाल-भारत सीमाका करिब छ दर्जन क्षेत्रमा सीमा विवाद जारी नै छ।
तर पनि नेपालले यो समस्या दुई देशबीचको भएकोले आपसी समझदारीमा सुल्झाउनुपर्ने कुरालाई महत्त्व दिँदै अझै पनि यो मामिलालाई अन्तर्राष्ट्रियकरण गरेको छैन। विगतका सबै सरकारले यस्ता सदाशयता देखाएका नै हुन्।
सन् १९५० को सन्धि पुनरावलोकनदेखि विभिन्न सीमा मुद्दा र अन्य असमझदारीको निराकरण गरेर एक्काइसौँ शताब्दी सुहाउँदो विशेष सम्बन्धको विकास गर्ने हेतुले दुई देशका प्रतिष्ठित व्यक्तिहरू सदस्य रहेको ‘प्रबुद्ध व्यक्ति समूह’ नामक उच्च आयोगले तयार पारेको संयुक्त प्रतिवेदन लामो समयदेखि भारत सरकारले आफैँसँग राखेर सार्वजनिक हुन दिएको छैन।
भारतको चीनसँग वैरभाव भयो भन्दैमा नेपालले चीनसँगको मधुर सम्बन्ध कायम गर्न नहुने, चिनियाँ ठेकेदारहरूले विश्वव्यापी टेन्डरमा सहभागी भएर पाएका ठेक्कामार्फत बनेका आयोजना जस्तै पोखरा र भैरहवा विमानस्थल पनि भारतलाई अमान्य हुने र चिनियाँ ठेकेदारले बनाएका विद्युत् आयोजनाबाट उत्पादित बिजुली खरिद गर्न नहुने जस्ता हाँस्यास्पद तर निकै दर्दनाक हठले नेपालको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ।
सन् १९७५ मा जनमत संग्रहको बाहनामा भारतीय सेना सिक्किममा प्रवेश गरी एक स्वतन्त्र राष्ट्रलाई निलेर आफ्नो मुलुकको २२औँ प्रान्त बनायो। भारतको त्यो कदमले नेपाललगायत सबै साना छिमेकीलाई निकै त्रसित बनायो भने विश्वका ठूला देश पनि मूकदर्शक भएर बसे।
यस्तो परिस्थितिमा नेपालजस्तो सानो मुलुकले भारत वा चीनसँग त्रसित भएर बस्नु अस्वाभाविक होइन। यस्ता धेरै घटनाका कारण नेपाली जनता र विगतका सरकारहरू भारतसँग नेपालको विशेष सम्बन्ध रहेको भए पनि सधैँ सन्देहका साथ हेर्न बाध्य भए।
भारतले नेपाललाई विभिन्न समयमा आर्थिक विकास तथा प्राकृतिक प्रकोपका बेला ठूलै सहयोग प्रदान गर्दै आएको छ। तर नेपाललाई विभिन्न बाहनामा दिएका दुःख र पीडाका फेहरिस्त पनि लामै छन्।
भारतले प्रत्यक्ष रूपमा नाकाबन्दी र अन्य नकारात्मक कार्य गरेको इतिहास छ भने नेपाललाई निकै सहयोग गर्ने चीनले पनि अघोषित नाकाबन्दी गर्ने गरेको छ। नेपालबाट निर्यात हुन लागेका र नेपालमा आयात हुन लागेका अर्बौं मूल्यका सामान चीनसँगको सीमामा बेलाबेलामा बिनाकारण र सूचना नाका बन्द हुँदा महिनौँसम्म अलपत्र परेका र कामै नलागेका धेरै उदाहरण छन्।
नेपालसँग सल्लाह नै नगरी सन् २०१५ मा चीनले भारतसँग कालापानीको बाटो भएर व्यापार गर्ने समझदारी गरेको खबरले पनि चीनको द्वैध कूटनीति र आर्थिक तथा राजनीतिक लाभका लागि जुनसुकै कदम चाल्न सक्ने कुटिल रणनीतिको झल्को दिन्छ। त्यसैले, यी दुवै निकटतम छिमेकीका राम्रा र नराम्रा दुवै कूटनीतिक पक्षलाई विचार गर्दै हामीले अति संवेदनशीलताका साथ असल सम्बन्ध कायम गर्नुपर्छ।
कुन र कस्ता विषय कुन मन्त्री वा पदाधिकारीले बोल्ने भन्ने कुरा प्रष्ट हुनु जरुरी छ। अर्थमन्त्रीले विदेशमा गएर बोल्दा नेपालका विकासका मुद्दाहरू, साधन र स्रोतको परिचालन, आर्थिक तथा विकास सहयोग जुटाउने विषयहरू, तथा यिनै क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि र चुनौतीहरूबारे स्पष्ट पार्नु कूटनीतिक रूपमा महत्त्वपूर्ण हुन्छ।
नेपालका अर्थमन्त्रीले यी दुई छिमेकी मुलुकसँग कृषि, सिँचाइ, यातायात, जलस्रोतः उत्पादन र वितरणमा सहकार्य, उद्योग तथा वाणिज्य क्षेत्रका कार्यहरू, नेपालका अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाईमार्गको उपलब्धता तथा यी दुई छिमेकी मुलुकका वायुसेवाहरूले ती विमानस्थलमा सेवा सुरु गरेर नेपालको पर्यटनमा खेल्न सक्ने भूमिकाबारे छलफल केन्द्रित गर्दा निकै राम्रो परिणाम आउन सक्छ।
भारत र चीनसँगको सीमा विवाद, राजनीतिक मुद्दा, राजनीतिक सन्धि-सम्झौता तथा कूटनीतिक विवाद आदि हेर्ने जिम्मेवारी सम्बन्धित मन्त्री, उच्च पदाधिकारी वा प्रधानमन्त्रीको हो। त्यस्ता विषयमा अन्य मन्त्रीले बोल्नु उचित हुँदैन। आ-आफ्नो कार्यक्षेत्रका विषय मात्र बोल्नुमा नै जिम्मेवार पदमा बस्नेहरूको हित हुन्छ।
भारत र चीन ठूला शक्ति राष्ट्र भए पनि मुलुक-मुलुकबीचको सम्बन्धमा कोही ठूलो वा सानो हुँदैन। सामान्य विषयको तारिफ गरेर छिमेकी वा मित्रराष्ट्रलाई खुसी तुल्याए पनि जटिल प्रकृतिका मुद्दाबारे भने सार्वजनिक कार्यक्रममा कुनै कुरा नभई भित्री छलफलमा मात्र कुरा राख्नुपर्छ।
त्यस्ता आधिकारिक वा अन्य वार्तामा समेत कूटनीतिक प्रयोग गरी नम्रताका साथ आफ्नै मुलुकको हितमा अडान लिनुपर्छ। यस्ता विषयमा हालका परराष्ट्र मन्त्रीका अभिव्यक्ति र क्रियाकलाप सराहनीय देखिन्छन्।
वास्तवमा नै निकै लामो समयपछि नेपालले एक सक्षम परराष्ट्र मन्त्री पाएको छ। आशा छ, प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको भारत भ्रमण पनि नेपालको हित र दुई देशबीचको असल सम्बन्धका लागि निकै महत्त्वपूर्ण र सफल सावित हुनेछ।
(लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्। )
No ads found for this position




Facebook Comment