पुलिस र सीडीओ हातमा छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

डिसी नेपाल
२० कार्तिक २०८३ १५:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको नेतृत्वमा पुगिसकेपछि उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमार्फत जनताले पार्टीलाई ठूलो जिम्मेवारी सुम्पिएकाले नेता तथा कार्यकर्ताहरू मात्तिन नहुने उनको भनाइ छ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले समाजले निरन्तर रूपमा पार्टी र सरकारका कामकारबाहीको विश्लेषण गरिरहेको बताए। समाजले देखाएको ऐनामा आफ्नो अनुहार सफा देख्नुको साटो ऐना देखाउनेउपर नै जाइलाग्ने प्रवृत्ति राजनीतिक चरित्र हुन नसक्ने उनले स्पष्ट पारे।

जनताले अपेक्षा गरेको उच्च राजनीतिक चरित्र र जिम्मेवारीमा नेतृत्व खरो उत्रनुपर्ने आवश्यकता औंल्याउँदै उनले ठूलो जनमत प्राप्त गरेपछि केही व्यक्तिहरूमा घमण्ड बढेको संकेत गरे।

विगतमा रास्वपामा आबद्ध हुँदा र एक्लै अभियान चलाउँदा राज्यसत्ताबाट भएका अपमान र प्रताडनाको बदला लिने नाममा प्रशासन तथा प्रहरीको दुरुपयोग गर्न नहुने सभापति लामिछानेले चेतावनी दिए। ‘हाम्रा हातमै पुलिस छन्, हाम्रा हातमै सीडीओ छन् र हाम्रा हातमै सबै छन्’ भन्ने किसिमको दम्भ नेता तथा कार्यकर्ताहरूले पूर्ण रूपमा त्याग्नुपर्ने उनको भनाइ थियो।

जनताले अत्यधिक मत दिएर पठाएको शक्ति ठालु पल्टनका लागि नभई थप सेवा प्रवाह गर्नका लागि भएको उल्लेख गर्दै लामिछानेले जनताको अभिमतलाई दुरुपयोग नगर्न आग्रह गरे।

सर्वाधिक शक्ति प्राप्त भएको समयमा नै सर्वाधिक जिम्मेवार बन्नुपर्ने इतिहासको माग रहेको बताउँदै उनले पार्टीभित्रको सुदृढ एकता र अनुशासन कायम राख्नुपर्नेमा समेत जोड दिए।


No ads found for this position

प्रतिक्रिया

One thought on “पुलिस र सीडीओ हातमा छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने”

  1. Ekdamai sahi kura, Nepal ko samasya vanekai No 1 Niyeti No 2- power miss use, No -3 Tapare haru manchhe bannu parchha,enai hun main samasya, Mero manchhe thulo Neta wa Thulo karmachari chhan malai bachauchha, maile je gare pani hunchha, malai bachauchha, example- KP Oli Yemale le je gare pani hune, very very bad example of the history

Leave a Reply

Your email address will not be published. Required fields are marked *