जितेन्द्रको देउसी गीतबाट उठेको रकम बाढीपीडित र गर्भवती महिलालाई सहयोग गरिने

डिसी नेपाल
२० कार्तिक २०८३ १७:०८

काठमाडौं। गायक जितेन्द्र श्रेष्ठ र गायिका मिना डुम्रे पाण्डेको स्वरमा रहेको ‘परदेशीको देउसी भैलो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले परदेशमा रहेका नेपालीको चाडपर्वसँग जोडिएको एक्लोपन, परिवारप्रतिको सम्झना र बिछोडको पीडालाई समेटेको छ।

अमेरिकाको बोस्टनमा बस्दै आएका गायक जितेन्द्र श्रेष्ठ र सुदीप पौडेलको शब्द सिर्जना रहेको उक्त देउसी भैलो गीतले विदेशमा रहेका नेपालीले दशैँ तथा तिहारजस्ता चाडपर्वमा भोग्नुपर्ने भावनात्मक पीडालाई उजागर गरेको छ।

विशेषगरी तिहारमा दिदीबहिनी र दाजुभाइबीचको दूरी, परिवारसँगै बसेर चाडपर्व मनाउन नपाउँदाको अवस्था तथा गाउँघरको सम्झनामा बित्ने क्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ। विदेशमा रहेका दाजुभाइ र नेपालमा रहेका दिदीबहिनीबीचको बिछोड तथा आपसी सम्झनालाई भिडियोले भावनात्मक रूपमा चित्रण गरेको निर्देशकसमेत रहेका गायक श्रेष्ठले बताए।

भिडियोमा अभिनेत्री अरुणा कार्की, लोकगायक मिन केसी, गायक श्रेष्ठ, गायिका पाण्डे, सुरेश गुरुगं, फत्ते गुरुगं, लगायत कलाकारको अभिनय देख्न सकिन्छ। गीतको एरेन्ज तथा कम्पोज प्रसाद खप्तरी मगरले गरेका हुन्।

सिन्धु पोखरेल र जित चोपराले छायांकन गरेको भिडियोको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्। सोरंग ब्याण्डको पहिलो प्रस्तुतिका रूपमा रहेको गीत ब्याण्डकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

अमेरिकाको बोस्टनमा बसोबास गर्ने नेपालीहरू मिलेर नेपाली लोकगीत तथा संगीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सोरंग ब्याण्ड स्थापना गरिएको गायक श्रेष्ठले बताए। ब्याण्डमा गायक जितेन्द्र श्रेष्ठ र शैलेन्द्र मुख्य भोकलिस्टका रूपमा रहेका छन् भने सारंगीवादक सुशील गौतम संरक्षकका रूपमा आबद्ध छन्।

यस गीतको अर्को विशेष पक्ष सामाजिक सेवासँग पनि जोडिएको छ। ‘परदेशीको देउसी भैलो’बाट संकलन हुने सम्पूर्ण आम्दानी भोटेकोशी बाढीपीडित तथा गर्भवती महिलाहरूको सहयोगका लागि हस्तान्तरण गरिने जनाइएको छ। यसले नेपाली कला र संस्कृतिको प्रवर्द्धनसँगै मानवीय सेवाको सन्देशसमेत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *