‘बाटुलो जून’ ट्रेलर सार्वजनिक: सहरमा हुर्किएका अनमोलले बाँचे ४० वर्ष पुरानो ग्रामीण जीवन
काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्ममा निर्वाह गर्ने पात्रका माध्यमबाट फरक समय र जीवन बाँच्न पाइने अनुभव व्यक्त गरेका छन्। आफू अभिनित नयाँ फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता केसीले झन्डै ४० वर्षअगाडिको ग्रामीण परिवेशलाई महसुस गर्दै त्यो जीवन जिउने अवसर पाएको बताएका हुन्।
‘म सहरमै हुर्किएँ र मैले अभिनय गरेका प्रायः फिल्ममा मेरा पात्र सहरिया नै छन्। यसपटक मैले मेरो बुबा (भुवन केसी) को समयलाई बुझ्न र बाँच्न पाएँ। ग्रामीण परिवेशले मलाई धेरै कुरा सिकाएको छ,’ अनमोलले भने। फिल्मसँग जोडिएका सबै सदस्यले इमानदारिताका साथ मेहनत गरेकाले फिल्म उत्कृष्ट बनेको उनको दाबी छ। कार्यक्रममा उनले आफ्नी को-स्टार तथा नवनायिका प्रिन्सी खतिवडालाई बुके दिएर फिल्मनगरीमा स्वागत समेत गरे।
टिकटकमार्फत चर्चामा आएकी प्रिन्सी खतिवडाले ‘बाटुलो जून’ मार्फत अभिनय यात्रा प्रारम्भ गर्दै छिन्। अनमोल, भुवन केसी, र गरिमा पन्तजस्ता अनुभवी कलाकारहरूसँग काम गर्न पाउँदा अवसरसँगै ठूलो चुनौती महसुस भएको उनले बताइन्। ‘मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्न निकै मेहनत गरेकी छु। टिमका सबै अग्रजले मलाई काम गर्न निकै सहज बनाइदिनुभयो,’ खतिवडाले भनिन्।
अभिनेतासँगै फिल्मका निर्देशकसमेत रहेका भुवन केसीले हाल बनिरहेका फिल्मभन्दा फरक विषय र परिवेशलाई दर्शकसम्म ल्याउने प्रयास गरिएको जानकारी दिए। ‘यो फिल्म हेर्दा दर्शकले केही फरक र आफ्नै कथाजस्तो महसुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु,’ निर्देशक केसीले भने।
फिल्ममा अनमोल र प्रिन्सीका साथै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र साङ्गी अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यस फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। फिल्म आगामी कात्तिक २६ गतेदेखि नेपालसहित अमेरिका, अस्ट्रेलिया, र दक्षिण कोरियालगायतका देशहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment