इजरायलमा कहिले बन्नेछ नयाँ सरकार, विपक्षी नेता आइजेनकोटले बताए

डिसी नेपाल
२१ कार्तिक २०८३ १३:०१

काठमाडौं । इजरायलका नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निशाना बनाउँदै देशलाई ‘स्थिर र जिम्मेवार नेतृत्व’ को खाँचो रहेको बताएका छन्।

उनले नेतन्याहूलाई प्रधानमन्त्री पदमा कायम रहनबाट रोक्न र देशमा फेरि एकपटक चुनाव गराउने अवस्था आउनबाट बच्न छिटोभन्दा छिटो राष्ट्रिय आपतकालीन सरकार गठन गरिनुपर्ने बताएका छन्।

यहुदी पर्व ‘शबात’ सुरु हुनुअघि इजरायलका नागरिकहरूलाई सम्बोधन गर्दै आइजेनकोटले ‘देश यसबेला गम्भीर र खतरनाक आपत्काल’ बाट गुज्रिरहेको बताए।

उनका अनुसार, वर्तमान सरकार इजरायलको लोकतन्त्रको अस्तित्वका लागि खतरा बनेको छ। उनले युद्धका कैयौँ मोर्चा अझै पनि खुला रहेको र ‘देशले खतरनाक राजनीतिक संकट’ को सामना गरिरहेको बताए।

आइजेनकोटले दाबी गरे – नेसेट (संसद्) का सदस्यहरूबीच भएको विचार-विमर्शबाट यो स्पष्ट छ कि बहुमत परिवर्तन र उनको प्रधानमन्त्री बन्ने पक्षमा छ।

उनले भने – मात्र ४६ जना सांसदहरू नेतन्याहूको कार्यकाल जारी रहने पक्षमा छन्, जबकि ७४ जना सांसदहरूले उनलाई विश्वास गरेका छैनन्।

उनले अल्पमतमा चलिरहेको कार्यवाहक सरकारको सुरक्षा व्यवस्था र कानुन कार्यान्वयन गर्ने निकायहरूमाथि नियन्त्रण कायम राख्नु खतरनाक रहेको र यो एक दिन पनि जारी रहनु नहुने बताए।

उनले आफ्ना सहयोगीहरूसँग राष्ट्रिय आपत्कालीन सरकार गठनका लागि कुराकानी भइरहेको बताए। उनले यस दिशामा राम्रै प्रगति भइसकेको र अर्को हप्ताको सुरुमा सरकार गठनको निम्तो पाउने आशा व्यक्त गरे।

उनले प्रस्तावित सरकारका लागि चारवटा आधारभूत सिद्धान्त पनि अगाडि सारेका छन्। यसमा इजरायललाई यहुदी र लोकतान्त्रिक देशको रूपमा मान्यता दिने, स्वतन्त्रताको घोषणाका मूल्यमान्यताहरूलाई स्वीकार गर्ने, सबैका लागि सैन्य वा राष्ट्रिय सेवा अनिवार्य गर्ने र हमासलाई अतिवादी संगठन मान्दै त्यसको सैन्य तथा राजनीतिक शक्ति समाप्त गर्ने प्रतिबद्धता सामेल छ।

उनले यी सिद्धान्तहरूसँग सहमत हुने सबै दलहरू र सांसदहरूलाई आफ्नो नेतृत्वमा बन्ने सरकारमा सामेल हुनका लागि निम्तो दिइने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *