छिमेकीले किर्ते गरी एक बिघा जग्गा कुम्लयाएको भन्दै कुष्ठरोगी दम्पत्ति न्याय माग्न मिडियामा

डिसी नेपाल
१७ कार्तिक २०७६ १४:५१

काठमाडौं। चितवन खैरेनी नगरपालिका वडा नम्बर १३ का स्थायी वासिन्दा कुष्ठरोगी दम्पत्ति शिवबहादुर सापकोटा र सबिना माझी सापकोटाले आफूहरुको एक बिघा जग्गा जालसाँझी गरेर छिमेकीले नै आफ्नो नाममा पारेको भन्दै न्यायको याचना गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटा दम्पत्तिले यस्तो याचना गरेका हुन्। छिमेकीसमेत रहेका गणेशकुमार श्रेष्ठले उनीहरुको जग्गा जालसाँझी गरेर आफ्नी बहिनीको नाममा (फिल्डबुक) मा दर्ता गराएको सापकोटा दम्पत्तिको आरोप छ।

उनीहरुका अनुसार श्रेष्ठले आफ्नी बहिनी तिलमाया श्रेष्ठको नाममा सापकोटा दम्पत्तिको जग्गा फिल्डबुकमा दर्ता गराएका थिए। आफूहरु घरमा नभएको मौका छोपेर श्रेष्ठले जालसाँझी गरेको भन्दै न्याय माग्न स्थानीय निकायमा धाउँदासमेत जनप्रतिनिधिहरुले कुनै सुनुवाई नगरेको पीडित शिवबहादुर सापकोटाको गुनासो छ।

उनले भने, ‘हामी घरमा कोहीपनि नभएको मौका छोपेर गणेश श्रेष्ठले यस्तो गलत काम गर्यो। उसले २०६३ सालमै यस्तो गलत काम गरेको रहेछ, तर हामीले २०७४ सालमा मात्रै थाहा पायौं। थाहा पाउनेबित्तिकै हामी सम्बन्धित निकायमा पुगेर यस्तो गलत काम गरिएको रहेछ भनेर जानकारी गराएका थियौं। तर, वडाअध्यक्षले कुनै सुनुवाई नै गर्नुभएन् । उल्टै हामीलाई हप्की र दप्की गर्नुभयो।’

बैशाखी टेकेर पत्रकार सम्मेलनमा उपस्थित् भएका सापकोटाले रुँदै भने,‘दोषीलाई कारबाही गर्नुपर्छ। दिनदाहाडै यस्तो गलत र गैरकानूनी काम गर्नेलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन्। फिल्डबुकमा तिलमायाको नाम हटाएर मेरो परिवारको नाम राख्नुपर्छ।’

एक बिघा ९ कठ्ठा जग्गा रहेकोमा अहिले ९ कठ्ठाको मात्रै जग्गाधनी पुर्जा आफूसँग रहेको उनले सुनाए। ‘एक बिघा जग्गा श्रेष्ठले जालसाँझी गरेर विवाह गरेर दिएकी बहिनी तिलमायाको नाममा फिल्डबुकमा चढाएको छ,’ उनले भने।

आफू बाल्यकालदेखि कुष्ठरोगी भएकोले अस्पताल धाउनुपर्ने बाध्यता रहेको सापकोटाको भनाइ छ । ‘म त विरामी हुँ, त्यही भएर धेरैजसो समय घर बाहिर भएँ। श्रेष्ठले त्यसरी एक बिघा जग्गा बहिनीको नाममा फिल्डबुकमा चढाउँदा हामी ललितपुरको टिकाभैरवमा रहेको कुष्ठरोग अस्पतालमा थियौं’, सापकोटाले सुनाए।

सापकोटा दम्पत्ति बैशाखी टेकेर भएपनि आफूहरुको जग्गा अर्को व्यक्तिले जालसाँझी गरेर खान खोजेकोले न्याय माग्न निवेदन बोकेर वडा कार्यालय धेरैपटक धाए । तर, जग्गाको पूर्जा निकाल्न अनुरोध गर्दा न्याय दिनुको साटो वडाअध्यक्ष बालकुमार उप्रेतीले धम्की दिने गरेको उनीहरुको गुनासो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *