रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

डिसी नेपाल
३० असार २०८३ ८:५३

रामेछाप। रोशी खोलामा पानीको सतह घटेपछि हिजो दिउँसोदेखि बन्द गरिएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

खोलामा वर्षाका कारण पानीको बहाव बढेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले हिजो दिउँसोदेखि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। पानीको सतह घटेपछि सम्बन्धित निकायले सडक तथा डाइभर्सनको सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याएको हो।

राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) यात्रुवाहक तथा मालवाहक सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। प्रहरीले चालक तथा यात्रुलाई अस्थायी डाइभर्सन प्रयोग गर्दा विशेष सावधानी अपनाउन, गति नियन्त्रणमा राख्न र सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य अहिले पनि जारी रहेकाले हाल खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ।

अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले रोशी खोलामा पानीको बहाव बढ्नेबित्तिकै सुरक्षाका कारण सडक बन्द गर्नुपर्ने अवस्था बारम्बार आउने गरेको छ।

प्रहरी तथा सम्बन्धित निकायले वर्षायाममा रोशी खोलाको जलस्तर जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनको पालना गर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *