बांग्लादेशमा विनाशकारी बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु, १० लाखभन्दा बढी मानिस अलपत्र
ढाका (एजेन्सी) । बांग्लादेशको दक्षिण-पूर्वी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूका अनुसार यस प्राकृतिक विपत्तिबाट तटीय जिल्ला कोक्स बजार सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ गत हप्ता रोहिंग्या शरणार्थी शिविरहरूमा गएको पहिरोमा परी बालबालिकासहित कैयौँ मानिसले ज्यान गुमाएका थिए।
बांग्लादेशको विपद् व्यवस्थापन मन्त्रालयले सोमबार दक्षिण-पूर्वी क्षेत्रमा लगातारको भारी वर्षाका कारण आएको भीषण बाढी र पहिरोमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। यस प्राकृतिक विपत्तिले समग्र क्षेत्रको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ भने कतिपय समुदायहरूको सम्पर्क अन्य क्षेत्रसँग पूर्ण रूपमा विच्छेद भएको छ।
मन्त्रालयका अनुसार बाढीका कारण कैयौँ क्षेत्र नराम्ररी प्रभावित भएका छन्। तीमध्ये तटीय जिल्ला कक्स बजार सबैभन्दा बढी चपेटामा परेको छ, जहाँ गत हप्ता मूसलाधारे वर्षापछि गएको पहिरोले ठूलो क्षति पुर्याएको छ।
त्यहाँस्थित रोहिंग्या शरणार्थी शिविरहरूमा जमिन भासिँदा बालबालिकासहित धेरैको भग्नावशेषमा पुरिएर मृत्यु भएको हो। प्रभावित क्षेत्रहरूमा हाल सुरक्षा निकाय र उद्धार टोलीहरूद्वारा उद्धार कार्य सञ्चालन भइरहेको छ।
बाढी प्रभावित क्षेत्रहरूको अवस्था निकै दयनीय बनेको छ। धेरै गाउँहरू अझै पनि कम्मरसम्म आउने बाढीको पानीमा डुबेका छन्। कतिपय तल्लो तटीय क्षेत्रहरूमा बाढीको सतह यति उच्च भएको छ कि पानी स्थानीयका टिनका छानाभन्दा माथिसम्म पुगेको छ, जसका कारण मानिसहरू सुरक्षित आश्रयस्थलको खोजीमा भौँतारिन बाध्य छन्।
विपद् व्यवस्थापन मन्त्रालयका अनुसार यस भीषण बाढीका कारण हाल १० लाखभन्दा बढी मानिस विभिन्न स्थानमा अलपत्र परेका छन्। बाढी पीडितहरूले स्थानीय प्रशासनप्रति तीव्र आक्रोश व्यक्त गर्दै राहत तथा उद्धार कार्य निकै सुस्त गतिमा भइरहेको र प्राप्त सहायता उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नका लागि अत्यन्तै न्यून रहेको गुनासो गरेका छन्।






डिसी नेपाल





Facebook Comment