एएफसी यू–१९ छनोट, इरानसँग पराजित भएपछि नेपाल बाहिरियो
काठमाडौं । नेपाल इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो। खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए। ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० को बनाए।
नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो। त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए।
जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ। इरान शीर्ष स्थानमा रहेको छ। पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन।
छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट्स (युएई) सँग ४–० गोल अन्तरले पराजित भएको थियो।
इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले युएईलाई २–० ले हराएको छ।
अब नेपालले छनोटको अन्तिम खेलमा आइतबार किर्गीस्तानको सामना गर्नेछ। यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment