कतारमा थप २ जना कोरोना संक्रमित, नेपालीलाई सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१८ फागुन २०७६ २०:४९

दोहा। कतारमा आइतबार थप दुईजना कोरोना संक्रमति फेला परेका छन्। उनीहरु पनि बिहीबार इरानबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएका मध्येका हुन्। पहिलो पटक शनिवार इरानबाट फिर्ता ल्याइएका एक नागरिकमा कोरोना भएको पुष्टि भएको थियो। यो सँगै कतारमा संक्रमितको संख्या तीन पुगेको छ।

उनीहरुलाई इरानबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो। कतारमा उनीहरुको अन्य व्यक्तिसँग कुनै सम्पर्क नरहेकोले आत्तिहाल्नुपर्ने अवस्था नभएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितहरुलाई कतारले सरुवा रोग केन्द्रमा राखेको छ। इरानबाट उद्धार गरी ल्याइएका अन्य नागरिकहरुलाई दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखेर परीक्षण भैरहेको छ।

नेपालीलाई सतर्कता अपनाउन आग्रह

कतारमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि दोहास्थित नेपाली दूतावासले यहाँमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
दूतावासले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो। कतारमा करीब चार लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन्।

दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ।

यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *