नेपालको विश्वकप यात्रा : पहिलो ढोका उपाधिसहित पार

डिसी नेपाल
२६ असोज २०७५ १०:३०

खेमराज थापा
काठमाडौं । नेपालले अस्ट्रलियामा २०२० मा हुने आईसीसी विश्व कप टी ट्वान्टीको पहिलो ढोका उपाधिसहित पार गरेको छ ।

मलेसियामा सम्पन्न एशिया बीको छनोट उपाधि जितेर नेपाल एशिया छनोटमा प्रवेश गरेको हो । मलेसियामा सम्पन्न प्रतियोगितामा नेपाल अपराजित रह्यो । नेपालले ५ खेल जित्यो भने अन्तिम खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भयो ।

शुक्रबार भएको नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण नतिजाबिहीन भएको हो । सो खेलमा नेपालले टस जितेर पहिला बलिंग गरेको थियो । सन्दीप लामिछानेले ४ विकेट लिँदा सिंगापुर १८ ओभर ३ बलमा अलआउट हुँदा ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पाएको नेपालले ३ बलमात्र खेल्दा वर्षाका कारण खेल रोकियो । वर्षा नरोकिएपछि सो खेल नतिजाबिहीन बन्न पुग्यो । पाँचै खेल जितेको सिंगापुरभन्दा नेपालको रनरेट राम्रो भएकाले नेपालले प्रतियोगिताको उपाधिसमेत जितेको हो ।

मलेसियामा नेपालले शानदार प्रदर्शन गर्दै उपाधिसमेत जितेर आफ्नो क्लास देखाएको छ । सो प्रतियोगितामा समावेश मुलुकभन्दा नेपालको स्तर निकैमाथि देखियो । हुन त सो प्रतियोगितामा सहभागी टिम मध्ये नेपालमात्र एकदिवसीय क्रिकेटको मान्यता पाएको टिम हो । नेपालले विपक्षीविरुद्ध गरेको प्रदर्शन पनि सोही स्तरको रह्यो ।

नेपालले कुनै पनि खेल तनावपूर्ण खेल्नु परेन । नेपालले पहिलो खेल म्यानमारमाथि ८ विकेटको जित निकाल्यो भने, चीनमाथि १० विकेटको जित हात पार्यो । यस्तै भुटानमाथि ११७ रनको जित निकाल्दा थाइल्याण्डमाथि १४० रनको जित हात पार्यो ।

यस्तै मलेसियामाथि पनि ८ विकेटको जित हात पार्यो ।

नेपालले खेलेका सबै खेलमा नेपाली बलर हावी देखिए । नेपालका सन्दीप लामिछाने प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने बलर बने । उनले ६ खेलबाट २४ विकेट लिए ।

अब नेपालले विश्वकपका लागि दोस्रो ढोका खोल्न एशिया छनोट खेल्नुपर्नेछ । शुक्रबार सम्पन्न प्रतियोगिताबाट नेपालसँगै सिंगापुर र मलेसिया पनि एशिया छनोटका लागि छनोट भएका छन् ।

यस्तै एशिया ए बाट यूएई, कतार र कुवेत छनोट भएका छ् । यी ६ देश सहभागी भएको एशिया छनोटबाट शीर्ष २ मा पर्ने टिमले ग्लोभल छनोट खेल्नेछन् । ग्लोभल छनोटमा विभिन्न महादेशबाट छनोट भएका र आईसीसीको वरियतामा तल्लो स्थानमा रहेका टीम यो छनोटमा सहभागी हुनेछन् । १४ टिम सहभागि हुने यो प्रतियोगिताबाट शीर्ष ६ मा पर्ने टिम अस्ट्रेलियामा हुने टी ट्वान्टी विश्व कपका लागि छनोट हुनेछन् ।

नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्व कपमा सहभागिता जनाइसकेको छ । फेरि अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि सहभागि हुनका लागि नेपाललाई मौका छ ।

सिंगापुरसँगको खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमटाले घरेलु स्तरमा भइरहेका प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले पीपीएल र ईपीएल जस्ता प्रतियोगिताले नयाँ खेलाडीका लागि मौका भएकासमेत बताए ।

उपाधि विजेता नेपाली टिम शनिबार स्वेदश फकिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *