पीपीएल: सन्दिपको टिम बाहिरियो, नाटकीय जीत हात पार्दै पारसको चितवन दोश्रो चरणमा प्रवेश

डिसी नेपाल
१७ कार्तिक २०७५ १२:०९

काठमाडौं। पोखरा प्रिमियर लिगको राउण्ड रोबिन चरणको अन्तिम खेलमा चितवन राइनोजले नाटकीय जीत हात पारेको छ । १५ ओभरको खेल हुँदासम्म जीतको आशा मार्ने अवस्थामा पुगेको राष्ट्रिय कप्तान पारस खड्का नेतृत्वको चितवनले नाटकीय कमब्याक गर्दै सनसनीपूर्ण जीत हात पारेको हो । जीतसँगै चितवनले अंक तालिकाको दोस्रो स्थानमा उक्लँदै भोलि हुने इलिमिनेटरमा हुलास काठमाडौं रोयल्ससँग भेट पक्का गरेको छ ।

अन्तिम खेल बाँकी रहँदा पोखरा पल्टन्स अंक तालिकाको पहिलो र हुलास काठमाडौं रोयल्स दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा स्थान बनाइसकेका थिए । अंक तालिकाको तेस्रो स्थानमा एक्सपर्ट धनगढी थियो । अन्तिम खेल अंक तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोज र तालिकाको अन्तिममा रहेको बिराटनगर टाइटन्सबीच हुँदै थियो । यो खेल जितेर चितवन अर्को चरणमा इलिमिनेटर खेल्न पुगेको हो । यो खेलमा चितवनले ठूलो अन्तरले विराटनगरलाई हराएको भए अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुग्ने सम्भावना पनि थियो तर त्यसो हुन सकेन ।

आजको खेलमा टस जितेर बिराटनगरले ब्याटिङ रोजेको थियो । विराटनगरको सुरुवात आफ्ना यसअघिका खेलहरुमा भदा राम्रो थियो । विराटनगरका ओपनरले राम्रो साझेदारी गर्दै १३ ओभरसम्ममा कुनै विकेट नगुमाइ ८७ रन बनाएका थिए । विना कुनै क्षति यति राम्रो साझेदारी गरेको विराटनगरबाट ठूलो स्कोरको अपेक्षा थियो । तर त्यसपछिका ब्याट्सम्यानले डेथ ओभरमा राम्रो प्रहार गर्न नसक्दा विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रनको मध्यम स्कोर खडा गर्यो ।

विराटनगरका लागि ओपनर मोहम्मद जैद आलमले ५१ र सुनिल धमलाले ४७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने धेरै उल्लेख्न हुन सकेन । चितवनका लागि कप्तान पारस खड्का र स्मित पटेलले २–२ विकेट लिए । करण केसीले १ विकेट लिए ।

१४६ रनको लक्ष्य पच्छ्याएको चितवनको सुरुवात राम्रो हुन सकेन । सन्दिप लामिछानेले इनिङको पहिलो बलमै ओपनर हरिशंकर शाहलाई शून्यमै आउट गरेपछि चितवनको इनिङ धर्मरायो । चितवनको स्कोर ९ रन हुँदा तेस्रो ओभरमै सन्दिपले कप्तान पारस खड्कालाई पनि बोल्ड गरिदिए । चौथो ओभरमा किशोर महतोको बलिङ केही महंगो साबित भयो । २ नो बल फाल्दै ओभरमा उनले कूल १९ रन दिए । पौचौं ओभरमा सुनिल धमलाले ओपनर अनिल शाहलाई पनि आउट गरिदिएपछि भने चितवन कमजोर देखियो ।

त्यसपछि चितवनको रनको गति उल्लेख्य रुपमा बढ्न सकेन । टिमको रनको गति सुस्त थियो । १४ ओभरको खेल सकिँदासम्म चितवनको स्कोर ४ विकेटको क्षतिमा ८४ रन थियो । चितवनलाई ३६ बलमा ६२ रन आवश्यक भएका बेला पुनः सन्दिप बलिङमा आए । उनले १५ औं ओभरमा मात्रै २ रन दिँदै आरिफ शेख र भुवन कार्कीलाई आउट गराए । यो अवस्थामा खेलमा विराटनगर पूरै हावी देखिएको थियो । चितवनलाई ३० बलमा ६० रन चाहिएको थियो र महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

पूरै विराटनगरको हातमा गइसकेको खेल फर्काउन चितवनका अलराउण्डर सनी पटेलले निकै आक्रामक खेल खेले । शहाब आलमले बलिङ गरेको १६ औं ओभरमा ४ चौका र १ छक्का प्रहार गरे । यो ओभरमा कूल १७ रन बन्यो । १७ औं ओभरमा सन्दिपले पाकिस्तानी अलराउण्डर मोहम्मद जैद आलमलाई बलिङ गर्न पठाए । यो ओभरमा सोनु तामाङले १ चौका प्रहार गरे । ओभरमा कूल ८ रन बन्यो ।

चितवनलाई ३ ओभरमा ३५ रन चाहिएको थियो । यो ओभरमा सन्दिपले किशोर महतोको हातमा बल दिए । यो ओभरमा पनि सनी पटेलले १ छक्का हाने, ओभरमा ९ रन बन्यो । २ ओभरमा २६ रन चाहिएको अवस्थामा १९ औं ओभरमा बलिङ गर्न कप्तान सन्दिप आफैं आए । यो ओभरमा ब्याट्सम्यान निकै आक्रामक रुपमा उत्रिए । सनी पटेलले २ छक्का र सोनु तामाङले १ चौका हानेपछि यो ओभरमा १८ रन बन्यो । अन्तिम ओभरमा किशोर महतोलाई २ चौका प्रहार गर्दै सनी पटेलले ३ बल बाँकी छँदै इनिङ समाप्त गरिदिए ।

दोस्रो इनिङमा सनी पटेल निकै आक्रामक खेले । उनले २४ बलमा नटआउट ५१ रन बनाए । आरिफ शेखले ३५, स्मित पटेलले २१ रन बनाए । बिराटनगरका लागि सन्दिप लामिछानेले ४ विकेट लिए । सुनिल धमला र शहाब आलमले १–१ विकेट लिए । चितवनका सनी पटेल म्यान अफ द म्याच घोषित भए ।

राउण्ड रोबिनका सबै खेल सकिँदा शरद भेषवाकरको नेतृत्वमा रहेको घरेलु टिम पोखरा पल्टन्स शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको छ । दोस्रो स्थानको चितवन राइनोज र तेस्रो स्थानको हुलास काठमाडौं रोयल्स भोलि बिहान ९ बजे हुने इलिमिनेटरमा भिड्नेछन् । यो खेलमा जित्ने टिमले पर्सी हुने फाइनलमा पोखरासँग उपाधिको लागि भिड्नेछ । बुटवल ब्लास्टर्स र बिराटनगर टाइटन्स यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए । झिनो सम्भावना रहेको एक्सपर्ट धनगढी ब्लुज पनि आज चितवनले अंक तालिकामा उछिनेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *