विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

डिसी नेपाल
१८ कार्तिक २०७५ १:१५

स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा शनिबार भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन्।

अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले शनिबार भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन्।

एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन्। नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन्। समूहगत खेलमा समेत कोरियाली समूह गिनग्लाइडर्स र दभिन्ची पहिलो र दोस्रो स्थानमा रहेका छन्।

नेपाली समूह नेपाल एक तेस्रो स्थानमा रहेको छ। महिला विधामा समेत पहिलो दोस्रो र तेस्रो स्थानमा कोरियाली खेलाडी रहेका छन्। नेपाली खेलाडी तृषा श्रेष्ठ वमजन महिला विधातर्फ पाँचौँ स्थानमा पर्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी खेलाडीहरु स्वरेक मैदानमा उडान गरी डौवा फाटमा अवतरण गरेका छन्। बिहीबारदेखि शुरु भएको प्रतियोगिताको आइतबार वालिङ– ११ डौवा फाँटमा समापन गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *