पिपिएल : पोखरा र चितवन फाइनलमा भिड्ने

डिसी नेपाल
१८ कार्तिक २०७५ १२:४२

कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ।

आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा घरेलु टोली पोखराले भने यसअघिनै समूह चरणमा शीर्ष स्थानमा रहँदै मङ्गलबार हुने फाइनल खेलमा स्थान सुरक्षित गरेको थियो।

फाइनल प्रवेशको लागि ९५ रनको सामान्य लक्ष्य पाएको चितवनले स्मित पटेलको ३८ र हरिशङ्कर शाहको २६ रनको मद्दतले १८ ओभरकोे दोस्रो बलमा लक्ष्य पूरा गरेको थियो । चितवनका आरिफ शेख नटआउट रहँदै ३२ बलमा २० रन जोडे । बलिङतर्फ काठमाडौँका सुसन भारीले तीन विकेट लिएका थिए । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा तीन बल बाँकी छँदै ९४ रनमा अलआउट हुन पुग्यो ।

खेलमा कमजोर शुरुआत गरेको काठमाडौँका लागि ज्ञानेन्द्र मल्लले ३० र जयकिशन कोल्सावालले २५ रन बनाउनबाहेक अन्य ब्याट्म्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

चार ओभर बलिङ गरेका सन्नी पटेलले तीन विकेट लिँदै जम्मा नौ रन खर्चेर काठमाडौँलाई सस्तैमा रोक्न सफल भएका थिए । स्मित पटेल र भुवन कार्कीले समान दुई विकेट र पारस खड्का र करण केसीले समान एक/एक विकेट लिएका थिए । प्रतियोगिताको विजेताले नगद रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *