ओलम्पिक छनोट : नेपाल भारतको खेल बराबरी रोकियो

डिसी नेपाल
२२ कार्तिक २०७५ १३:४१

काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । म्यानमारमा बिहिबार भएको पहिलो खेलमा नेपालले भारतसंग १ – १ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

याङगोनस्थित थुवुन्ना स्टेडियममा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो ।

तर, खेलको ३७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भारतले बराबरी गोल फर्काएको थियो । भारतका लागि कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काएकी थिइन् ।

त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल १ – १ गोलको बराबरीमा सकिएको थियो । बराबरीसंगै समूह ‘सी’ मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् ।

महिला फुटबलमा भारतविरुद्ध नेपालको यो दोस्रो बराबरी हो । नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । नेपालले यसअघि भारतसंगको आठ खेलमध्ये १ खेलमा बराबरी र ७खेल्म पराजय व्यहोरेको छ ।

नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।

ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह ‘सी’ र ‘डी’ मा चार चार टोली रहेका छन् ।

प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *