बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले टेस्ट क्रिकेटमा रचे इतिहास

डिसी नेपाल
२६ कार्तिक २०७५ १०:२३

एजेन्सी। बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले टेस्ट क्रिकेटमा विश्वरेकर्ड बनाएका छन् । ढाकामा जारी जिम्बाब्बेविरुद्धको दोस्रो टेस्टमा मुस्फिकरले दोहोरो शतक प्रहार गर्दै सबैभन्दा धेरै पटक दोहोरो शतक हान्ने विकेटकिपर बनेका छन् । आजको दोस्रो दोहोरो शतकसँगै मुस्फिकरको दोहोरो शतकको संख्या २ भएको छ ।

क्रिकेट इतिहासमा आजसम्म कुनै पनि विकेटकिपरले १ पटक भन्दा बढी दोहोरो शतक हान्न सकेका थिएनन् । मुस्फिकरले दोस्रो पटक दोहोरो शतक हान्दै इतिहास रचेका हुन् । हुन त टेस्ट क्रिकेटमा सबैभन्दा धेरै पटक दोहोरो शतक हान्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका कुमार सांगाकारा पनि विकेटकिपर नै हुन् । तर उनले विकेटकिपरको रुपमा खेल्दा एक पटक मात्र दोहोरो शतक हानेका छन् ।

यसलाई निकै रोचक संयोग नै मान्नुपर्छ कि संसारका उत्कृष्ट विकेटकिपरको सूचीमा महेन्द्र सिंह धोनीपछि दोस्रो स्थानमा आउने सांगाकाराले टेस्टमा ११ दोहोरो शतक हानेका छन् । तर, यीमध्येको एकमात्र दोहोरो शतक हान्दा उनी विकेटकिपरको रुपमा खेलिरहेका थिए । २००२ मा पाकिस्तानविरुद्ध लाहोरमा सांगाकाराले हानेको २३० रन नै उनको विकेटकिपरको रुपमा सर्वाधिक स्कोर हो र यो नै उनको पहिलो दोहोरो शतक पनि हो ।

सांगाकाराले त्यसपछि टेस्टमा १० पटक दोहोरो शतक हाने यीमध्ये एक पटक त उनको स्कोर ३ सय माथि नै पुगेको थियो । तर, दोहोरो शतक हानेका यी १० वटै टेस्टमा सांगाकारा विकेटकिपरको रुपमा खेलेका थिएनन् । यीमध्ये ८ खेलमा प्रसन्ना जयवद्र्धने श्रीलंकाका विकेटकिपर थिए । बाँकी २ खेलमध्ये एकमा दिनेश चाण्डिमल र अर्कोमा निरोसन डिकवेला विकेटकिपर थिए । सांगाकाराबाहेक अन्य कुनै पजि विकेटकिपर ब्याट्सम्यानले टेस्टमा दोहोरो शतक हानेका छैनन् । यहाँसम्म कि भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी, दक्षिण अफ्रिकाका दिग्गज खेलाडी मार्क बाउचर, अस्ट्रेलियाका आडम गिलक्रिस्ट जस्ता महान विकेटकिपरले पनि दुई पटक दोहोरो शतक हान्न सकेका छैनन् ।

मुस्फिकरले विकेटकिपरको रुपमा दोहोरो शतक हान्दै इतिहास त रचेका छन् नै उनले आफ्नो टेस्ट करिअरकै सबैभन्दा उच्च स्कोर पनि बनाएका छन् । यसअघि उनको उच्चतम स्कोर २ सय रन थियो । यतिमात्र होइन उनी टेस्ट क्रिकेटमा अहिलेसम्मकै ठूलो स्कोर बनाउने बंगलादेशी ब्याट्सम्यान बनेका छन् । बंगलादेशका लागि यसअघि एक इनिङमा सबैभन्दा धेरै रन शाकिब अल हसनले बनाएका थिए । टेस्टमा उनको स्कोर २१७ रन थियो । मुस्फिकरले बंगलादेशको लागि नटआउट २१९ रन बनाए । मुस्फिकरले बंगलादेशको लागि सर्वाधिक स्कोरको रेकर्ड बनाएसँगै कप्तान महमुदुल्लाहले इनिङ डिक्लेयर गरेका छन् । आफ्नो पारी समाप्तीको घोषणा गर्दासम्म बंगलादेशको स्कोर ७ विकेटको क्षतिमा ५२२ रन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *