अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै इंग्ल्याण्डका पुर्व कप्तान रुनी

डिसी नेपाल
२८ कार्तिक २०७५ १३:२६

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका इंग्ल्याण्डका पुर्व कप्तान वायन रुनीले विदाई खेल खेल्ने भएका छन्।

घरेलु मैदानमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै स्ट्राइकर रुनीले अन्तर्राष्ट्रिय फुटबल करिअरमा फुलस्टप लगाउने भएका हुन्। उनको अन्तिम खेल इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बलीमा बिहिबार हुनेछ।

रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए। रुनीले सन् २०१६ को नोभेम्बरपछि थ्री लायन्सका लागि खलेका छैनन्। रुनीले इंग्ल्याण्डबाट पछिल्लोपटक स्कटल्याण्डविरुद्ध खेल खेलेका थिए।

तर, इंग्ल्याण्ड फुटबल एसोसिएसनले कीर्तिमानी गोलकर्ता रुनीको सम्मानमा विदाई खेल राखेको हो। रुनी गत सोमबारबाट इंग्लिश टोलीको अभ्यासमा सामेल भईसकेका छन्।

पुर्व कप्तान रुनीले विदाई खेललाई यादगार बनाउने बताईसकेका छन्। रुनीले अमेरिकाविरुद्ध कप्तानी समेत गर्ने बताईएको छ। ‘मेरो पहिलो अभ्यास सोमबार थियो। राष्ट्रिय खेलाडीसंगको अभ्यास विशेष रह्यो,’ रुनीले भनेका छन्, ‘वेम्बलीमा फर्कन पाउनु मेरो लागि विशेष हुनेछ। मलाई गर्व हुनेछ र मोरो लागि यो बिशेष क्षण हुनेछ।’

म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि ११९ खेल खेल्दै कीर्तिमानी ५३ गोल गरेका छन्। उनी इंग्ल्याण्डका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। अमेरिकाविरुद्धको खेल रुनीको १२० औं क्याप हुनेछ।

रुनी हाल अमेरिकाको मेजर सकर लिग क्लब डीसी युनाइटेडबाट खेलिरहेका छन्। छोटो समयमै रुनीले अमेरिकी लिगमा प्रभाव जमाइसकेका छन्। उनले २१ खेलमा १२ गोल गरिसकेका छन्।

यस्तै यो मैत्रीपूर्ण खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *