इपिएलका लागि चितवनमा इंग्ल्याण्डका क्रिकेटर

डिसी नेपाल
१२ मंसिर २०७५ १२:३३

काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसनले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी – ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

विकेट किपर तथा ब्याट्सम्यान सिम्पसनले आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा चितवन टाइगर्सबाट खेल्ने भएका हुन् । चितवनले बुधबार प्रेस विज्ञप्ति निकाल्दै सिम्पसनलाई अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार सिम्पसनलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।

निकै अनुभवी खेलाडी सिम्पसनले ९४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ३० बर्षीय सिम्पसन इंग्ल्यान्डको यू(१९ टोलीका पुर्व सदस्य हुन् । सिम्पसनले लंकाशायर र मिडलसेक्सबाट खेल्दै १४० फस्ट क्लास र ८४ लिष्ट ए क्रिकेट खेलेका छन् ।

यसअघि चितवनले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई अनुबन्ध गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *