सन्दीपको करिअरकै खराब बलिंग

डिसी नेपाल
१३ मंसिर २०७५ १४:२४

काठमाडौं । सन्दीप लामिछानेले बिहीबार करिअरकै खराब बलिंग गर्दा उनको टीम केरला नाइट्सले टी–१० क्रिकेट लिगमा हार ब्यहोरेको छ । बिहिबार भएको खेलमा २ ओभर बलिङ गरेका सन्दीपले ४७ रन खर्चेर विकेट लिन असफल भए ।

चौथो ओभरमा २२ रन खर्चेका उनी सातौ ओभरमा समेत २५ रन दिएका थिए । सन्दीपको खर्चिलो बलिङसंगै १ सय २ रनको लक्ष्य नर्दन वारिवर्सले ७ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुुरा गर्यो ।

निकोलास पोरनले १८ बलमा विस्फोटक ब्याटिङ गर्दै नटआउट ४३ रन बनाए । आन्द्रे रसेल समेत २९ रनमा नटआउट रहे । पोरनले सन्दीपको एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए । टी टेन लिगका पहिलो दुई खेलमा राम्रो बलिंग गरेका सन्दीप तेस्रो र पाँचौ खेलमा फिक्का देखिए।

शारजाहा क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको केरला किंग्सले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।

पाउल स्टर्लिङले ६० र इयान मोर्गानले १७ रन बनाएका थिए । क्रिस गेल १४ रनमा आउट भएका थिए।

यसअघि, सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए।

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए। तेस्रो खेलमा सन्दीपले राजपुतविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए।

पञ्जावविरुद्वको चौथो खेलमा उनले २ ओभर बलिङ गर्दै विना विकेट २८ रन खर्चेका थिए।

यो हारसंगै सन्दीपको टिम केरलाको प्ले अफ सम्भावना कमजोर बनेको छ । सुपर लिगमा केरलाको यो दोस्रो हार हो। साविकको विजेतासमेत रहेको केरला ३ अंक जोडेर पुछारबाट दोस्रोमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *