प्रेस स्वतन्त्रतामाथि अंकुश सह्य हुन्न : उपप्रधानमन्त्री यादव

डिसी नेपाल
१३ जेठ २०७६ ०:३९

काठमाडौं ।  उपप्रधान, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अङ्कुश सह्य नहुने धारणा बताएका छन्।

जनकपुरधामबाट प्रकाशित हुने जनकपुर टुडेको २१औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रलाई मापन गर्ने थर्मोमिटर भएको प्रसङ्ग उल्लेख गरे।

उनले प्रेस स्वतन्त्रता मौलिक अधिकारको महत्वपूर्ण पक्ष भएकाले सञ्चारकर्मीले यसको मर्यादा कायम गरी सामाजिक दायित्व निर्वाह गर्नु जरुरी भएको बताए।

सामाजिक सञ्जालमा कतिपय मिडिया अश्लील, उद्दण्ड देखापर्नु दुःखद हो भन्दै उपप्रधानमन्त्री यादवले अमर्यादित, अश्लील र पीत पत्रकारिताको नियन्त्रण सञ्चार क्षेत्रबाटै हुनु अपरिहार्य भइसकेको बताए।

सङ्घीयता र प्रदेशलाई कमजोर तथा गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकोप्रति सञ्चार क्षेत्रले सजग गराउन आवश्यक छ भन्दै उहाँले गणतन्त्र रहेमा मात्र प्रेस स्वतन्त्रता कायम रहन सक्ने बताए।

सञ्चारमाध्यमले नश्लवाद र तानाशाही शक्तिलाई पराजित गर्ने भूमिका निर्वाह गरी लोकतन्त्रको रक्षा र संस्थागत विकासतर्फ सबैको ध्यान केन्द्रित गराउनु जरुरी भएको धारणा राखे।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश मिडिया मैत्री विधेयक ल्याउने पक्षमा रहेको बताउँदै प्रदेश मिडिया काउन्सिल विधेयकमा विज्ञको बदमासीले प्रेस स्वतन्त्रता भाव विपरीत समावेश गरिएका बुँदालाई छलफल गरी सच्याउन तयार रहेको जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले त्रासको वातावरण अन्त्य गरी समभाव र व्यवहार गर्नुपर्ने खाँचो औँल्याए। जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले केन्द्रीय सरकार प्रदेशका मिडियासँग विभेद गरिरहेकोतर्फ ध्यानाकर्षण गराए।

प्रेस काउन्सिल नेपालका सदस्य नवल यादवको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ पत्रकारहरू रामभरोस कापडी भ्रमर र राजेश्वर नेपालीले प्रेसलाई सर्वजनहितायको पक्षमा प्रयोग नगरी नियन्त्रण गर्ने र लेखन स्वतन्त्रतालाई हनन गर्ने विधेयक ल्याउनु गलत भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *