नाकाबन्दीका ‘सुत्राधार’ भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा

डिसी नेपाल
१७ जेठ २०७६ ४:५४

काठमाडौं। नेपालको संविधान जारी हुँदा २०७२ भदौको अन्तिम हप्ता नेपाल आएर संविधान जारी हुनबाट रोक्ने असफल गरेका तत्कालीन भारतीय विदेश सचिब प्रधानमन्त्री माेदीका विशेष दूत सुर्वमण्यम जयशंकर भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा भएको छ ।

संविधान जारी गरेको झोंकमा भारतले लगाएको नाकाबन्दीका एक सुत्रधार मानिएका ‘खलपात्र’ जयशंकर मन्त्री बनेपछि आगामी दिनहरुमा नेपाल र भारतबीचको सम्बन्ध कस्तो होला भन्ने चर्चा र चिन्ता नेपालीहरुले सामाजिक सञ्जालमा गरेका छन्।

विस्तारै धुमिल हुँदै गएको नाकाबन्दीको स्मरण फेरि उनै जयशंकर मन्त्री बनेपछि फेरि ताजा भएर आएको हो। सम्भवत उनी भारतीय विदेशमन्त्रीको भूमिकामा हुने छन्। र संविधान जारी हुनबाट रोक्न आफूले गरेको प्रयास असफल भएपछिको तुष उनले फेरि नेपालमाथि थोपार्न सक्छन् भन्ने चिन्ता देखिएको छ।

यो चिन्ता समाजवादी दल संघीय परिषदका अध्यक्ष पूर्वप्रधामन्त्री तथा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी डा. बाबुराम भट्टराई पनि परेको छ। उनले समाजिक सञ्जाल ट्वटीरमा लेखेका छन्, ‘हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा बधाइ दिँदै १ नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ, दुवै पक्षले पाठ सिकेर अघि बढौं।’ स्मरण रहोस एज जयशंकर पनि सोही विश्वविद्यालयबाट पीएचडी गरेका विद्यार्थी हुन्।

जयशंकर मन्त्री बनेको विषयमा चर्चित कुटीतिक पत्रकार पत्रकार अनिल गिरीले पनि टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘अघिल्लो कार्यकालमा नाकाबन्दी लगाएर तनाब दिए। दोस्रो कार्यकालमा नाकाबन्दीका सूत्रधार मध्येका एक एस जयशंकरलाई मन्त्री संभवतः विदेश मन्त्रीनै बनाएर अर्को पाँच बर्ष नेपालीलाई चैनसंग सुत्न देलान जस्तो छैन त मोदीले।’

यस्तै टिप्पणीकार रामेश कोइराला जयशंकर मन्त्री बनेको विषयलाई लिएर व्यंग्य गरेका छन्। उनले ट्वटीरमा लेखेका छन्, ‘तातोपानी खुल्यो के रे, अब त्यस्ता नाकाबन्दीका नाइके जयशंकर भारतका विदेश मन्त्री बने पनि डराइन्न। ग्यास, पेट्रोल, नुन र भिण्डीदेखि प्याजसम्मै चाइनिज ल्याएर तिर्मेलाई देखाइदिन्छौँ। पर्ख न केही वर्ष हाम्रो गेमचेन्जर बन्न त देऊ, अनि त हामी नै तिमेर्को बोर्डरमा पर्खाल लाइदिन्छौँ।’

जयशंकर मन्त्री बनेको विषयमा नेपालमा चर्चा भएपछि सो चर्चा गलत भएकोसमेत टिप्पणी भएका छन्। भारतमा जो मन्त्री भए पनि नेपाललाई मतलब नहुने समाजिक सञ्जालमा टिप्पणी भएका छन्। एकजना ट्वीटर प्रयोगकर्ता गिरिस पोखरेलले लेखेका छन्, ‘छिमेकीले हेप्ने यस्तै भएर हो। नेपाल भारतको प्रान्त हो र ? केही नेता, बुद्धिजीबी कुबुद्धिजीबीहरू तत्कालीन बिदेश सचिव एस् जयशंकर मन्त्री भए बित्यास हुने भो भनेर हल्ला गर्या छन्। भारतमा जोसुकै प्रम-मन्त्री बनोस् किन बाल दिनु र? नेपाल स्वतन्त्र राष्ट्र हो आफ्नो घर दरो बनाउनु सक्की गो।’

अर्का ट्वीटर प्रयोगकर्ता निरब पुडासैनीले भने प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भएको गोप्य सम्झौता सार्वजनिक भएको विषय र जयशंकर मन्त्री बनेको विषयलाई जोडेर आशंका व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘मोदी जी को आगमनसंगै ओली जी र पुकदा जी बीचको गोप्य भनिएको सहमति दूतावास परस्त पत्रकार बनेका पात्रसंगको अन्तर्वार्ता मार्फत सार्वजनिक गराइयो। साथै नाकाबन्दी वाला एस‍. जयशंकर झट्का युक्त बोनान्जा। नेपालको राजनीतिमा पुनः झेल सुरु हुने पक्का। त्वम् शरणम् नगरे ओलिलाई धरै छैन।’

स्मरण रहोस २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएपछि असोज ५ गतेबाटै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर आपूर्ति रोकिदिएको थियो। जसको कारण नेपालमा अतिआश्यक वस्तुको हाहाकार मच्चिएको थियो।




प्रतिक्रिया