विश्वकप क्रिकेटः श्रीलंकाको पहिलो जित, अफ्गानिस्तान ३४ रनले पराजित

डिसी नेपाल
२२ जेठ २०७६ ३:०१

एजेन्सी । श्रीलंकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

कार्डिफमा भएको खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रन बनाएपनि टोलीको हार जोगाउन सकेनन् । यस्तै हजरतउल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडे ।

अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । यस्तै लासिथ मालिंगाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो ।

श्रीलंकाका लागि कुशल परेराले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रन जोडे । अफगानिस्तानका मोहमद नाबीले ४ विकेट लिए । त्यस्तै डलट जड्रान र राशिद खानले २/२ विकेट लिए ।

जितसंगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *