अटो दुर्घटना हुँदा गर्भवतीसहित सात जना घाइते, पाँचको अवस्था गम्भीर

डिसी नेपाल
२१ कार्तिक २०८३ १६:४२

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा अटो अनियन्त्रित भई सडकबाट तल खेतमा खस्दा एक गर्भवती महिलासहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो साढे १ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दुर्घटनामा परेको हो। अनियन्त्रित भएको अटो सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ का ४० वर्षीय गंगा घिसिङ घाइते भएका छन् र उनको अवस्था मध्यम रहेको छ। यसैगरी, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ की १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समीक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी तथा हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।

सबै घाइतेलाई तत्काल उद्धार गरी थप उपचारका लागि मकवानपुर पठाइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *