हिन्दु धर्मको रक्षा गुठीको जमिनबाट गरिनु हुँदैन : सत्तारुढ सांसद चौधरी

डिसी नेपाल
२८ जेठ २०७६ ११:२८

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

गुठी विधेयक, हावाहुरीले पुर्याएको क्षति, सडक निर्माण लगायत विकास निर्माणका काममा देखिएको ढिलासुस्ती जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गंगा चौधरी सत्गौवाले हिन्दु धर्मको रक्षा गुठीको जमिनबाट गर्न नहुने तर्क गरिन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सत्गौवाले सामन्तवादको अन्त्य गर्ने भएकाले गुठी विधेयक जसरी पनि ल्याउनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘गुठी सम्बन्धी विधेयक सदनमा आउनुभन्दा पहिले त्यो विधेयकको भु्रण हत्या गर्न खोजिदैछ । त्यो कदापि हुनु भएन । त्यो गुठीको जमिनसँग हजारौ भुमिहीन जोताहा किसानका छोरा छोरीको भविष्य गाँसिएको छ । त्यो चकनाचुर पार्न खोजिदै छ । गुठी विधेयकले बर्षौदेखिको सामन्तवादको अन्त्य गर्नेछ । गुठीको जमिन मुठ्ठीभरको मान्छेको अधिनबाट लिएर जोताहा किसानहरुको नाममा गरिनुपर्दछ । नेपालको संविधानले धर्म निरपेक्षताको व्यवस्था गरिसकेको हुनाले हिन्दु धर्मको रक्षा गुठीको जमिनबाट गरिनु हुदैन ।’

अर्का सांसद सांसद झपट बहादुर रावलले कैलाली र कंचनपुरमा यही जेठ २३ गते विहिबार साझ आएको हावा हुरीका कारण ठुलो जनधनको क्षति भएको र पीडीतहरु अहिले पनि खुला आकासमुनि बस्न बाध्य भएको भन्दै तत्काल उचित वासस्थानको साथै राहत र क्षतिपुर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाल सरकारको सौतेले व्यवहारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लाको भानु नगरपालिकाकामा चितुवाको आक्रमणबाट ४ जना बालकको ज्यान गएको र अहिले त्यस क्षेत्रका जनता त्रसित रहको भन्दै नरभक्षी चितुवा नियन्त्रणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले शुन्य समयमा उठेका विषय शुन्यमै सिमिति नगर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।

सांसद कृष्ण प्रसाद दाहालले मकवानपुर सहितका जिल्लामा ३२ सालमा नापनक्सा भएको जग्गाधनी पुर्जा गाउँमा नपुगेको, र पुर्जा नभएका कारण स्थानीयले वित्तिय कारोबार गर्न नपाएको भन्दै तत्काल समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्ण बहादुर राईले काठमाण्डौ क्षेत्र नम्बर ३ र २ अन्र्तगत पर्ने बागमति नदीमा गरिदै आएको बागमति व्युटिफिकेसनको काम विभिन्न कारणले रोकिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगराज अधिकारी गण्डकी प्रदेश र प्रदेश नम्बर ५ प्रवेश गर्ने बिजयखोलाको पुल भग्नावशेष जस्तो अवस्थामा रहेको भन्दै सो स्थानमा पक्की पुल निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

साांसद खेम प्रसाद लोहनीले पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डमा १० मिनेटको बाटोमा प्रत्येक दिन यात्रुहरुले ३–४ घण्टा लाममा बस्नु परेको भन्दै सडक क्षमता भन्दा बढी भारवहन गरेका र लामा सवारी साधनलाई नौबिसेमा रोकी बैकल्पिक व्यवस्था गर्न माग गरे ।

सांसद उमा रेग्मीले जेठ ३ गते चितवन गोन्द्राङमा नेकपाका कार्यकर्ताहरुले ढाट जलाउदा जादा प्रहरी सहायक निरीक्षक कल्पना खड्का माथि नै पेट्रोल खन्याएर आगो लगाईएको घटना प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउने घटनाका दोषिलाई कारवाहीको माग गरिन् ।

सांसद उमाशंकर अरगरिया धनुषा जिल्लामा निर्माण भईरहेको हुलाकी सडकको गुणस्तरीय अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृता थापा, इन्दु कुमारी शर्माले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न संसदीय समितिले दिएको निर्देशनको स्वागत गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *