संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने

डिसी नेपाल
३१ जेठ २०७६ १३:१०

काठमाडौं। संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो।

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिईरहेका बेला सो सम्बन्धि तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिए। समितिको आगामी साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग सो विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ।

समितिले भूमिसम्बन्धि आठौं संशोधन विधेयक आगामी आईतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ। त्यसैगरी असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताए।

समितिले मंगलबार असार ३ गते विहान साँढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपरान्ह ३ बजे वातावरण संरक्षण सम्बन्धि विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमि सम्बन्धि आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ। ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *