सभामुखले बोलाएको सर्वदलीय बैठक निश्कर्षबिहीन

डिसी नेपाल
१६ साउन २०७६ १९:४२

काठमाडौं। अवरुद्ध संसद सुचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीहरुभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।

सभामुख कृष्ण बहादुर महराले विहीबार बोलाएको सर्वदलिय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि विकल्प बारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन् । लामो समयसम्म बैठक अवरुद्ध हुँदा जनतामा गलत संदेश जाने भन्दै सत्ता पक्षले संसद संचालन गरि प्रतिपक्षी दलको मागबारे पनि छलफल गर्दै जाने प्रस्ताव अघि सारेको थियो । तर यस प्रस्तावमा प्रतिपक्षी दल सहमत नभएपछि थप छलफलका लागि संसद बैठक ४ दिन सम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आफुहरुको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभएपनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

सर्वदलिय छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सदन सुचारु गराउन सबै दल सहमत भएको र प्रतिपक्षी दलको मागका सम्बोधन तथा सदन सुचारुका विकल्पबारे थप छलफल गर्ने सहमति भएको जानकारी दिए।

समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने पक्षमा नै आफुहरु रहेको बताए ।

नेकपाका सांसद भीम रावले देशप्रति जिम्मेवार भएर समस्याको समाधान खोजिनुपर्ने बताए ।

त्यसैगरी सांसद हृदयेश त्रिपाठीले संबैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले सर्लाही घटनाबारे छानविन गरिरहेकाले संसदले छुट्टै समिति बनाउन आवश्यक नपर्ने तर्क गरे।

नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले सदन अवरुद्ध गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *