प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

डिसी नेपाल
१८ साउन २०७६ २३:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए।

प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ। यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कर्ने कार्यक्रम रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *