हङ्कङमा प्रदर्शन जारी, चीनको कडा प्रतिक्रिया

डिसी नेपाल
२१ साउन २०७६ २३:०४

हङ्कङ (बीबीसी) । चीनले ‘आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउने’ भन्दै हङ्कङका प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिएको छ। हङ्कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमलाई कम नआँक्न भनेको छ। हङ्कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्।

सोमवार आह्वान गरिएको हड्तालको कारण हङ्कङका दुई सय उडानहरू रद्द भएका थिए । प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीहरूसँग मुठभेड भएका र त्यसले हङ्कङका बासिन्दाहरूका लागि स्वतन्त्रताको महत्व दर्शाउँदै बेइजिङको लागि चुनौती खडा गरेको बताइएको छ।

विगतमा ब्रिटिश नियन्त्रणमा रहेको हङ्कङ चीनको अङ्ग भएपनि त्यहाँ चीनमाभन्दा बढी स्वतन्त्रता छ। ‘कट्टरपन्थी प्रदर्शनहरूले’ हङ्कङलाई ‘धेरै खतरनाक अवस्थाको नजिक’ र्पुयाएको हङ्कङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुयाङले बताएका छन्। उनले प्रदर्शनकारीहरूलाई संयमतालाई कमजोरी नसम्झन चेतावनी दिए। उनले लामलाई राजीनामा गराउने प्रयासले कहिँ नर्पुयाउने भन्दै प्रदर्शनले हङ्कङको अर्थतन्त्रमा गम्भीर असर पुर्याएको बताए।

यो चीनले प्रदर्शन शुरू भएयता जारी गरेको सबैभन्दा कडा चेतावनी हो। सो कार्यालयले हङ्कङमा विरलै पत्रकार सम्मेलन गर्ने भएपनि यो हप्ता दुई पटक पत्रकारहरूसँग भेटघाट गरिसकेको छ। याङले कट्टरपन्थी र हिंसात्सक शक्तिले नेतृत्व गरेको प्रदर्शनमा केही गलत बुझेका तर गलत गर्न नचाहने नागरिकहरू पनि परेको बताएका छन्।

उनले दक्षिणका चीनविरोधी शक्तिले अशान्तिलाई प्रोत्साहन गरिरहेको बताउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले प्रदर्शनलाई दर्शनयोग्य भनेको र ब्रिटिश विदेशमन्त्री जेरमी हन्टले प्रहरीले गरेको शक्ति प्रयोगको छानबिन हुनुपर्ने भनेको उदाहरण दिए। पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्। वैदेशिक र रक्षा मामिला बाहेकमा चिनियाँ सरकारले हङ्कङमा ‘उच्च कोटीको स्वायत्तता’ रहने प्रतिबद्धता जनाएको छ।

चिनियाँ जनमुक्ति सेनाका टुकडीहरू हङ्कङमा छन्। तर स्थानीय विषयमा उनीहरूको हस्तक्षेपको अपेक्षा गरिँदैन। तर कानुनले हङ्कङ सरकारलाई सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद्मा राहतको निम्ति जनमुक्ति सेनाको सहयोगको निम्ति उसलाई आग्रह गर्न अनुमति दिएको छ। गत साता चीनका रक्षा मन्त्रालयका प्रवक्ताले चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको निन्दा गरेका थिए र हङ्कङका नेताहरूले सेनाको सहयोग माग्न सक्ने ‘स्पष्ट प्रावधान’ रहेको बताएका थिए।

कैयौँ टिप्पणीकारहरूले हङ्कङमा आफ्नो टुकडीहरूको प्रयोगको निम्ति तयार हुनु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क गरिरहेका बेला हालैका हप्ताहरूमा हङ्कङको सरकार र प्रहरीले सेना परिचालन गर्ने आफ्नो कुनै योजना नभएको प्रष्ट पारेका छन्।

मूख्यभूमि चीन, ताइवान र मकाउबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्कङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको एक विधेयक संसद्मा प्रस्तुत भएपछि विरोध शुरू भएको थियो।

ताइवानमा विदा मनाउन गएका बेला हङ्कङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो। प्रदर्शनपछि सो विधेयक स्थगित भइसकेको छ तर प्रदर्शन रोकिने छाँटकाँट छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *