हेलिकोप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक

डिसी नेपाल
८ जेठ २०८१ ६:५६

बीबीसी। हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो।

मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् भने फ्रान्स, युरोपेली संघ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्।

तर निर्वासनमा रहेको विपक्षी समूह पिपुल्स मुजाहिदीन अफ इरानले “मृत्युदण्ड र नरसंहारका लागि बदनाम इरानी सत्ताका निम्ति राष्ट्रपतिको मृत्यु ठूलो धक्का भएको” प्रतिक्रिया दिएको छ।

सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई दिएका छन्।

समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको” जनाएको थियो। त्यसअघि इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरेका थिए। उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो। त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए।

उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्‍वशक्तिहरूबाट चुनौती खेपिरहेको थियो। उनले आफ्नो कार्यकालमा सरकारविरोधी जनप्रदर्शनको पनि सामना गर्नुपर्‍यो। धार्मिक सत्ताको विरोधमा भएको प्रदर्शनले उनको सत्ता डगमगाउने अवस्था समेत आएको थियो।

साथै गाजामा इजरेल र हमासबीच चलेको युद्धमा इरान खुला रूपमा सामेल हुन पुग्यो। यसअघि उसको भूमिका छायाशक्तिको मानिन्थ्यो। सन् १९८० को राजनीतिक बन्दीहरूलाई सामूहिक रूपमा फाँसी दिइएको घटनामा रइसीको भूमिकालाई लिएर कैयौँ इरानी जनता र मानवअधिकारकर्मीले बारम्बार प्रश्न उठाउने गरेका थिए।

रइसी तेहरानको उपअभियोजक नियुक्त हुँदा केवल २५ वर्षका थिए। त्यहाँ उनी ‘मृत्यु समिति’ भनेर कहलिएको एक गोप्य न्यायाधिकरणको हिस्सा बने। उनी उक्त समितिको चार सदस्यमध्ये एक थिए।

उक्त समितिले पहिल्यै जेल सजाय काटिसकेका राजनीतिक व्यक्तिहरूमाथि पुन: मुद्दा चलायो। त्यसमा खास गरी विपक्षी पार्टीका नेता कार्यकर्तालाई तारो बनाइयो। उक्त न्यायाधिकरणले मृत्युदण्ड दिएकाहरूको सङ्ख्या अज्ञात भए पनि मानवाधिकार सङ्घसङ्गठनहरू महिला र पुरुष गरी लगभग पाँच हजार जनालाई मृत्युदण्ड दिइएको बताउँछन्।

रइसीले भने उक्त घटनामा आफ्नो संलग्नतालाई बारम्बार अस्वीकार गर्ने गरेका थिए। मानवअधिकार विरोधी कतिपय घटनालाई लिएर सन् २०१९ मा ट्रम्प प्रशासनले रइसीमाथि विभिन्न प्रतिबन्ध समेत लगाएको थियो। रइसीको कडा अडानकाबीच अमेरिकासँग आणविक सम्बन्ध पुनर्स्थापना गर्न भएको वार्तालाई कालान्तरमा इरानकै विभिन्न घटनाले छायामा पारे।

इस्लामिक गणतन्त्रको संविधानले राष्ट्रपतिको मृत्यु भएको वा स्वास्थ्य अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ। पछिल्लो घटनासँगै सर्वोच्च नेता खामेनेईले उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका छन।

खामेनेईले उनलाई सभामुख र प्रधान न्यायाधीशसँग मिलेर संयुक्त रूपमा राष्ट्रपतिको कामकाज गर्न भनेका छन्। इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

इरानका सर्वोच्च नेताले त्यसका लागि स्वीकृति दिनुपर्छ। सरकारी सञ्चारमाध्यमले राष्ट्रपतिको मृत्यु भएको पुष्टि गरिसकेको अवस्थामा इरानमा अब निर्वाचन हुने निश्चित छ। तर अब हुने निर्वाचनमा मतदाताहरूको रुचि कम हुने सम्भावना पनि छ।

अघिल्लो चुनावमा रइसीलाई चुनौती दिन सक्ने नेताहरूलाई उम्मेदवार बन्न दिइएको थिएन। कुल मतदाताको ३० प्रतिशत अर्थात् निकै कम मतदान भएको निर्वाचनबाट रइसी राष्ट्रपति चुनिएका थिए। अधिकांश मतदाताले “मिलेमतो” भइसकेको ठानेर निर्वाचन बहिष्कार गरेका थिए।

उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुई समेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो। मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन्।

इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली तत्काल सम्भावित घटनास्थलतर्फ लागेको थियो। तर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो।

उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन्। त्यसमा आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो।

यसअघि इरानीहरू उक्त घटनाबाट स्तब्ध भएको र राष्ट्रपतिसहित उनको टोलीका लागि प्रार्थना गरिरहेको विवरण आएका थिए। इरानी राष्ट्रपति इरान-अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहरतिर जाँदै थिए।

उनले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गरेका थिए। त्यस क्रममा उनी र अजेरी समकक्षीसँगै थिए। अजेरी राष्ट्रपतिले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै आफ्नो देश आवश्यक सहयोग गर्न तयार रहेको बताए।

इरानभित्र भएका यस्ता दुर्घटनाहरूबारे जानकारी प्राप्त गर्न निकै कठिनाइ हुने गरेको छ। बीबीसीले विभिन्न अर्धसरकारी समाचार निकायहरूले सार्वजनिक गरेका जानकारीमा निर्भर भएर रिपोर्टिङ गरिरहेको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले हेलिकोप्टर दुर्घटनाको विवरण आएपछि इरानीवासीहरूलाई “चिन्ता नगर्न” आग्रह गरेका छन्। उनले उक्त घटनाले “देशको काममा कुनै बाधा नपर्ने” आश्वासन दिँदै त्यसो भनेका हुन्।

आईआरएनए समाचार संस्थाले दुर्घटनास्थलतर्फ खोजी गर्नका लागि ४० वटा टोली खटाइएको जनाएको थियो। त्यसमा तालिमप्राप्त कुकुरहरू र ड्रोनहरू पनि प्रयोग गरिएका थिए।

ह्वाइट हाउसका प्रवक्ताका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे जानकारी दिइएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त घटनालाई नजिकबाट हेरिरहेको बताएका छन्। तर उनले त्यसबारे थप बोलेनन्।

रुस, अजरबैजान, आर्मेनिया र इराकले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। रुसले उक्त दुर्घटनाको कारण पत्ता लगाउने गरी अनुसन्धान गर्नका लागि पनि आफूले सहयोग गर्न सक्ने बताएको छ। यूएईले सहयोगका लागि तयार रहेको बताउँदै यो घडीमा इरानको साथमा रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *