राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान नराख्न सुझाव

डिसी नेपाल
२३ साउन २०७६ १४:००

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन्।

सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै हटाउन माग गरेका हुन्।

सहमतिको आधारमा स्थानीय तहको कर्मचारीलाई प्रदेश भित्रको अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख गरिएको छ। काँग्रेस सांसद कँडेलले बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सहमति भनेपछि त्यसमा काँग्रेस, कम्युनिष्ट र मधेशी दल भनेर राजनीतिक आस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गरे।

त्यसैगरी सत्तारुढ नेकपाका सांसद शर्माले पनि सहमतिको नाममा कर्मचारीहरुलाई सरुवाका लागि बाध्य पार्ने ढंगले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने जनाए।

उनले योग्यता, क्षमताको आधारमा कर्मचारीहरुले सरुवा हुन पाउने व्यवस्था गरेर अघि बढन सरकारलाई सचेत गराए। समितिका सदस्यहरुले कर्मचारीहरुको सरुवा आवश्यक्ताको आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *