सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाइने

डिसी नेपाल
२८ साउन २०७६ १८:२१

काठमाडौं । सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ।

काठमाडौँमा मंगलबार स्वाबलम्बन बिकाश कोषको २८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारी भित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताएकी हुन्।

मन्त्री अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने पैसा अपचलन गर्ने अनि भाग्ने, फेरी नयाँ ठाउमा जाने अनि पुरानै धन्दा गर्ने बिकृति बढ्दै गएकोले कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यान्वयनमा लैजान लागिएको स्पष्ट पारिन्।

अहिले बाणिज्य बैंक र विकास बैंकले कर्जा सुरक्षा कोष अन्तर्गत रहेर निक्षेप संकलनको सूचना र कर्जा प्रवाहको सूचना लिने दिने गर्दै आएका छन्। बिगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदान प्रदान गर्ने ब्यबस्था लागु गर्ने भनिएपनि हुन नसकेको भन्दै मन्त्री अर्यालले अब कर्जा सुरक्षा कोषको काम व्यवहारमा प्रभावकरी रुपमा लागू गरिने बताइन्।

यस्तै कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारको गरिब लक्षित कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडी बढाइने पनि जानकारी दिइन्। मन्त्री अर्यालले बिगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिब घर तोक्ने कारणले सरकारको काम उपलब्धि बिहिन भएको औल्याइन्।

मन्त्री अर्यालले अब बिगतको कमजोरी सच्याउदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम प्रविधि सफ्टवेयर मार्फत हुने बताइन्। प्रविधिलाई कसैले छल गर्न नसक्ने भन्दै मन्त्री अर्यालले पहिचान भएको लक्षित गरिब घरलाई मात्र सरकारले सहयोग उपलब्ध गराउने स्पष्ट पारिन्।

कार्यक्रममा मन्त्री अर्यालले स्वाबलम्बन बिकाश कोषको कामको प्रशंसा गर्दै नेपालमा लघुबित्तको क्षेत्रमा अग्रणी स्थान रहेको बताइन्। स्वाबलम्बन बिकाशको लघु कर्जा प्रवाहसंगै आवश्यक सीप पनि दिने कार्यले गरिवी निवारणको सरकारको लक्ष्य लाइ सहयोग पुगेको पनि बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *